प्रेमिकासँग घुम्न गएर अपहरणको नाटक गर्ने युवक समातिए


काठमाडौं – धनगढीमा आफूलाई अज्ञात व्यक्तिहरुले अपहरण गरेर बन्धक बनाएको भन्दै नाटक गर्ने एक युवक पक्राउ परेका छन्। बन्धक बनाएको भन्दै परिवार र प्रहरीलाई झुक्याएका २० वर्षीय रघुनाथ ओझा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार डोटीआदर्श गाउँपालिका–३ का ओझा हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्दै आएका थिए। अपहरणको नाटक गरेका उनलाई धनगढी–१ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

उनी आफू अध्ययनरत रहेको स्थान चितवनबाट दाईको बिहेमा जानु छ भनेर माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेकोमा सोही मितिबाट सम्पर्कविहीन भएका थिए।

त्यसपछि उनले घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफुलाई अज्ञात व्यक्तिहरुले बन्धक बनाएको बताए। त्यसपछि परिवारले प्रहरीमा जाहेरी दिएर उनको खोजीकार्य सुरु गर्यो।

तर, अनुसन्धानको क्रममा उनी सम्पर्कविहीन भएकै दिन आफ्नो प्रेमीकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको खुल्यो उनले साथमा रहेको रकम सकिएपछि पोखराबाट घर फर्किए।

सोही क्रममा उनलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ। यसरी आफुलाई अज्ञात व्यक्तिहरुले बन्धक बनाएको भनि झुटो खबर गरेको भन्दै प्रहरीले सार्वजनिक मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया