साथीको हत्या गरी फरार ३७ वर्षपछि पक्राउ


काठमाडौं – साथीको हत्या गरी ३७ वर्षसम्म प्रहरी छल्दै पक्राउ पर्नबाट बचेका व्यक्ति अन्ततः समातिएका छन् ।

हत्या आरोपमा ३७ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको चापागाउँका ५६ वर्षीय सुनबहादुर तामाङलाई पक्राउ गरेको हो। सुनबहादुरले २०४१ चैत १२ गते आफ्नै साथी साविक चापागाउँ गाविस-८ सल्यानगाउँका घटेरो कान्छो भन्ने गणेशबहादर नगरकोटीको हत्या गरेको आरोप लागेको छ।

आपसी लेनदेनमा विवाद हुँदा सुनबहादुरले घटेरो कान्छोको हत्या गरेका थिए। त्यसपछि फरार भएका उनलाई ३७ वर्षपछि बुधबार चापागाउँबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी श्यामकुमार महतोले जानकारी दिए। हत्या गरेपछि उनी २० वर्षसम्म तराईको दक्षिण सीमा क्षेत्रमा बस्दै आएका थिए।

नेपाल भारत ओहोरदोहार गर्दै उनी गाडीमा लेवर (मजदुर) को काम गर्ने गर्थे। विगत १० वर्षदेखि भने उनी तराईबाट ललितपुर आउजाउ गर्ने गरेको खुलेको छ। सोही क्रममा उनी चापागाउँ आएको बेला पक्राउ परेका हुन्।

कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालत ललितपुरमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। सुनबहादुर फरार भएका उक्त मुद्दा मुलतबीमा राखिएको थियो। अहिलेसम्म उक्त मुद्दाको फैसला भएको छैन।

प्रतिक्रिया