

काठमाडौं उपत्यकाबाट २ जना महिलासहित २३ बन्दकर्ता पक्राउ

काठमाडौं – काठमाडौं उपत्यकाबाट प्रहरीले २३ जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसिसिको विरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए ।
यात्रुलाई असहज हुने गरी सडकमा सवारी साधन रोक्न खोज्ने र कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायतलाई प्रहरीले पक्राउ गरेका हुन् ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आउती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्ण जित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

