हात्ती आतङ्कः गस्ती टोलीबाट दैनिक सुरक्षा


झापाझापाको बुद्धशान्ति गाउँपालिका३ मा दैनिक छावासहित आउने जङ्गली हात्तीका कारण स्थानीयवासी त्रसित बनेका छन् ।  दिनभरि नजीकै रहेको आदर्श नमूना सामुदायिक वन क्षेत्रभित्र बस्ने र साँझ पर्ने बित्तिकै गाउँ पसेर किसानले लगाएको सागसब्जी कुल्चेर नष्ट गर्ने, घरभित्र थन्क्याएको अन्नसमेत खाइदिएको हुँदा उनीहरु ज्यान बचाउनु कि अन्न भन्ने कुराले त्रसित बनेका हुन् ।

दैनिक कहिले दुईतीनवटा त कहिले बच्चासहित आउने जङ्गली हात्तीले हैरान पारिसके, हात्ती मानव द्वन्द्व न्यूनीकरण समितिका सचिव सीताराम बास्तोलाले भने, ‘ज्यान जोगाउनु कि अन्न । बल्ल वर्षभरि खाने धान घर भित्र्याइएको छ, त्यो पनि हात्तीले ढिकुटी नै उधिनेर खान थाल्यो । उनले हात्ती धपाउनका लागि डिभिजन वन कार्यालयसँग पटकपटक साइरनसहितको गाडी माग गरे पनि बेवास्ता गरेको आरोप लगाए ।

सचिव बास्तोलाले घरघर आउने हात्तीका कारण रातभर अनिदो बस्ने गरेको बताए । हालसम्म थाल ठट्टाएर, होहल्ला गरेर र पुल्टो बालेर हात्ती धपाउँदै आएको उनको भनाइ छ । खेतमा धान हुन्जेल भित्र्याउन नपाइएला भन्ने चिन्ता थियो, उनले भने, ‘जसोतसो बचाएर घर त भित्र्याइयो, बच्चासहितको हात्ती सिधै घरतिरै आउन थालेपछि धानसँगै ज्यान जोगाउनै मुस्किल भयो ।

डिभिजन वन कार्यालय झापाका फरेस्टर डिल्लीराम खरेलले बुद्धशान्ति गाउँपालिकाका कुनै पनि वडाबाट हात्तीले क्षति पु¥याएको गुनासो हालसम्म नआएको बताए । उनले गुनासो आएका र हात्ती भएका स्थानमा कार्यालयले साइरनसहितको गाडी पठाएर रातभर सुरक्षा दिँदै आएको बताए ।

उनका अनुसार जिल्लाका अन्य क्षेत्रभन्दा मेचीनगरको चारआली र भद्रपुर नगरपालिकाको पृथ्वीनगर क्षेत्रमा आठवटा रैथाने हात्ती देखापरेकाले सो क्षेत्रमा साइरनसहितको गस्ती टोलीले दैनिक सुरक्षा प्रदान गरिरहेको छ । फरेस्टर खरेलले चालू आर्थिक वर्षको पाँच महिनामा जङ्गली हात्तीले अन्नबाली नष्ट गरेबापत राहतका लागि डिभिजन वन कार्यालय झापाको कार्यालयमा दुई हजार छवटा निवेदन दर्ता भएको बताए । तीमध्ये साउनमा सबैभन्दा बढी ७६, भदौ ५२, असोज ५७, कात्तिक २४ र मङ्सिरमा १६ वटा राहतका लागि किसानले निवेदन दर्ता गराएका छन् ।

(रासस)

प्रतिक्रिया