शुक्रबार सर्वाेच्चमा ‘फुलकोर्ट’ बैठक बस्ने
काठमाडौं – सर्वोच्च अदालतमा सोमबार बसेको न्यायाधीशहरूबीचको बैठकले शुक्रबार पूर्ण बैठक ‘फुलकोर्ट’ डाक्ने निर्णय गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएर निलम्बित भएपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीद्वारा न्यायाधीशहरुलाई सोमबार छलफल डाकेका थिए ।
छलफल शुक्रबार फुलकोर्ट बैठक डाक्ने निर्णयका साथ सम्पन्न भएको थियो । न्यायालय सुधारका लागि शुक्रबार सर्वोच्चको पूर्ण बैठक बोलाउने निर्णय भएको बताइएको छ । उक्त बैठकमा न्यायाधीशहरूलाई विभिन्न प्रस्तावहरु राख्न आग्रह गरिएको छ ।
सोमबारको बैठकले आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग छलफल गरेर समस्या समाधानको निकास खोज्ने सहमति गरेको छ ।
नेपाल बार एसोसिएसनको आग्रहबमोजिम १२ बजेबाट मात्रै सुरु हुँदै आएको इजलास अब बिहान ११ बजेबाट नै सुरु गर्ने विषयमा पनि छलफल भएको छ । यस विषयमा एक खालको सहमति भइसकेको छ भने सार्वजनिक गर्न बाँकी रहेको बताइएको छ ।