
भरतपुरका सडक तथा चोकमा स्मार्ट सडक बत्ती जडान सुरु
चितवन – भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो ।
अभियान अन्तर्गत ७८ दशमलव १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने छ । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार ३०० ठेक्का सम्झौता भएसँगै सेफ स्टिलरसूर्योदय ऊर्जारटपशन जेभिले शुक्रनगरबाट काम सुरु भएको हो
अगामी वैशाखसम्म काम सम्पन्न हुने जनाइएको छ । उनले भनिन्, ‘सुरक्षा र सुन्दरताको दृष्टिकोणले भरतपुरलाई उत्कृष्ट सहर बनाउन ‘उज्यालो सहर’ अभियान सहयोगी बन्ने छ ।’ महानगरका मुख्य सहरी क्षेत्र जिल्ला प्रशासन, हाकिम, चौबिसकोठी, वीरेन्द्र क्याम्पस, सहिद, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला र मालपोत चोकमा हाईमास्ट बत्ती जडान गरिँदै छ । बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलिमिली बनाइने योजना छ ।
उनले भनिन्, ‘अन्य पूर्वाधारको निर्माणसँगै सुन्दरता र सहजताका लागि भरतपुर महानगरमा यस अनिवार्य थियो ।’ अन्य प्रमुख सडकको समेत सर्वे गरेर प्राधिकरणमा पठाइएको उनले बताइन् । यस अभियान अन्तर्गतको बत्ती जडान योजनामा महानगरको १० प्रतिशत साझेदारी छ ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले उज्यालो सहर अभियानमार्फत महानगरमा रातका समयमा यात्रु र सवारी साधनको आवतजावत सहज बनाउन सडक बत्ती जडान सुरु गरिएको जानकारी दिए । हाकिम चोक–गीतानगर–जगतपुर सडक खण्डको १८ दशमलव ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् ।
चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलव ८ किमीमा ५६९, मङ्गलपुरदेखि शुक्रनगर सम्मको २२ दशमलव १३ किमीमा ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलव ४२ किमीमा सडक खण्डमा ५८ सडक बत्ती जडान हुने छ ।
यसैगरी दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यालयसम्मको ७ दशमलव ८६ किमीमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलव १७ किमीमा ५० र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलव २६ किमीमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ । अन्य क्षेत्रमा क्रमशः यस किसिमका बत्ती जडान गर्दै जाने उहाँको भनाइ छ ।



कागजपत्र |
