
बागलुङबाट हराएका आमाछोरा दिल्लीमा भेटिए
काठमाडौँ – चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका(७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिएकी छन्। घरदेखि हराएको २ सातापछि विक आइतबार नाबालक छोरासहित दिल्लीमा भेटिएको उनका श्रीमान् राजेन्द्रले बताए।
श्रीमती र छोरा सक्षमलाई लिएर आफू नेपाल फर्किरहेको उनले बताए। खोजी गर्दा भारत गएको जानकारी पाएपछि राजेन्द्र पनि दिल्ली पुगेका थिए। दिल्लीको एक कोठामा अपरिचित महिलासँग बसेको अवस्थामा भेटाएपछि त्यहाँबाट छुटाएर ल्याएको राजेन्द्रले बताएका छन्।
‘आमाछोरा दिल्लीमा सकुशल भेटिए, अहिले साथमा लिएर घर फर्कंदैछु,’ उनले टेलिफोनमा भने, ‘कपिलवस्तु घर भएकी महिलाले काममा लगाइदिन्छु भनेर दिल्ली पुर्याएकी रहिछिन्।’
श्रीमतीलाई ती महिलाको नामसमेत थाहा नभएको राजेन्द्रले बताए। राजेन्द्रका अनुसार उनीहरुबीच फोनमा कुराकानी भएपछि दिल्ली जाने योजना बनेको थियो।
रोजगारीको लोभले अपरिचित महिलाको लहैलहैमा लागेर श्रीमती दिल्ली पुगेको उनले बताएका छन्।
गत पुस २६ गते छोरासहित आफ्नो लुगाफाटो लिएर घरबाट निस्किएकी विक आँगाखेतबाट जीप चढी बुटवल पुगेकी थिइन्। त्यहाँबाट उनी दिल्ली पुगेको खुलेको छ। राजेन्द्रले बेपत्ता आमाछोराको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवेदन दिइसकेका थिए।
बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत स्थिति पत्ता लाग्न नसकेपछि परिवारजन चिन्तामा थिए। टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो।
घरबाट गएको साँझ श्रीमानसँग कुराकानी हुँदा भाइकहाँ छु भनेकी विकको मोबाइल एकाएक बन्द भएको थियो। त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन्। त्यसपछि फेसबुक म्यासेन्जरमा कुराकानी हुँदा श्रीमतीले आफूहरु दिल्लीमा रहेको बताएपछि खोजीमा गएको राजेन्द्रले बताए।



कागजपत्र |
