काठमाडौँ बन्यो कोरोनाको ‘हटस्पट’

१४ जिल्ला ‘रेड जोन’मा


काठमाडौं – एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये ५४ प्रतिशत बढी काठमाडौं उपत्यकामा देखिएको छ ।

नेपालमा देशभर बिहीबारसम्म ५७ हजार ३ सय २८ जना संक्रमितमध्ये उपत्यकामा मात्रै ३७ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ६ हजार ९ सय ८१ संक्रमित थपिएका थिए । गत २ माघमा देशभर कोरोना संक्रमितमध्ये उपत्यकामा ६७.४३ प्रतिशत नयाँ संक्रमित थपिएका थिए । त्यसपछिका दिनको तथ्यांक हेर्दा दैनिक जसो ५० प्रतिशतभन्दा बढी संक्रमित थपिएको देखिन्छ । ३ माघमा ५८.४९ प्रतिशत, ४ माघमा ५४.०९ प्रतिशत, ५ माघमा ५५.१७ प्रतिशत र ६ माघमा ५६.५९ प्रतिशत कोरोना संक्रमित थपिएका छन् ।

यस्तै, बिहीबार ६ सय ४९ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १८ हजार ८ सय ९ पुगेको छ । त्यस्तै, बिहीबार एकै दिन ४ संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३२ पुगेको छ ।

खोप नलगाएका १२ वर्षमुनिका बालबालिका जोखिममा

कोरोनाको तेस्रो लहर सुरु भएसँगै १२ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको छ । खोप नलगाएका १२ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिन थालेको हो । सरकारले १२ वर्षमाथिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप दिएको भए पनि सोभन्दामुनिका बालबालिकालाई खोप दिएको छैन ।

चिकित्सकका अनुसार हाल १२ वर्षमुनिका बालबालिकामा धेरैजसोमा अत्यधिक जिउ दुखाइ, ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस गर्ने, कसैकसैमा टाउको दुखाइ, हल्का बान्ता हुने र पखालालगायतका लक्षण देखिएको छ । बालरोग विशेषज्ञ युनास अन्सारीका अनुसार हाल बहिरंग विभागमा आउने लक्षण भएका ११ वर्षमुनिका बालबालिकाको परीक्षण गर्दा करिब ८० प्रतिशतभन्दा बढीमा कोभिड देखिएको छ । कोरोनाको परीक्षण दर बढाउँदा यो संख्या अझै बढ्न सक्ने डा. अन्सारीले बताए ।

कोभिड संक्रमण देखिए पनि बालबालिकामा जटिलखालको समस्या भने अहिलेसम्म नदेखिएको अन्सारीको भनाइ छ । दोस्रो लहरमा कोरोना हुँदा बालबालिका आईसीयू कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था आए पनि अहिलेसम्म कोही पनि आईसीयूमा राखेर उपचार गर्ने अवस्था नआएको उनको भनाइ छ । तर, बालबालिकामा संक्रमण दर भने दैनिक बढिरहेको छ । बिहीबार मात्रै १२ हजारभन्दा बढी कोरोना संक्रमित हुँदा ११ वर्षमुनिका १ सय ८९ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

१४ जिल्ला ‘रेड जोन’मा

देशभर १४ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई सरकारले रेड जोनमा राखेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ सय बढी सक्रिय संक्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, बाँके, कास्की, रूपन्देही र कैलाली रहेका छन् ।

२ सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोतरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन् ।

प्रतिक्रिया