ललिता निवास जग्गा प्रकरणः सरकारी वकिल कार्यालयले फिर्ता पठायो सीआईबीको अनुसन्धान प्रतिवेदन


काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुझाएको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फिर्ता पठाएको छ ।

बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी लिखतसम्बन्धी कसुरमा विभिन्न भूतपूर्व उच्चपदस्थ अधिकारीहरूसहित ३०० जनाभन्दा बढीलाई मुद्दा चलाउन सिफारिस गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो ।

उक्त प्रतिवेदन पेश गरेपछि कार्यालयले आवश्यक कारबाही अगाडि बढाउने जनाए पनि अहिले सिआईबीको अनुसन्धान अझै पूर्ण नभएको भन्दै सोमबार फिर्ता पठाएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले जनाए ।

सिआईबीले प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस गरेकामध्ये कतिपय व्यक्तिविरुद्ध पक्राउ पुर्जी पनि जारी भइसकेको छ भने केही व्यक्ति पक्राउ पनि परेका थिए ।  उक्त बहुचर्चित जग्गा हिनामिना प्रकरणबारे नेपालका न्यायिक र संवैधानिक निकायहरूले छानबिन गरिरहेका छन्।

प्रतिवेदनमा पुस २७ अर्थात् भोलीसम्म मुद्दा चलाउन सिफारिस भएका ३ सय जनालाई नै पक्राउ गर्नुपर्ने हदम्याद रहेको उल्लेख गरिएकोमा प्रतिवेदन नै फिर्ता भए पछि तत्कालका लागि ललिता निवास जग्गा प्रकरणमा सिआईबीको तर्फबाट कुनै पनि कानुनी कारबाही अगाडि नबढ्ने देखिएको छ ।

यस प्रतिवेदन फिर्ता पठाइसकेपछि सीआईबीकै अनुसन्धानपछि पुस ७ मा पक्राउ परेका मुख्य आरोपीद्वय रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीको बारेमा भने के हुने अझै खुलेको छैन । ‘उनीहरुको बारेमा के गर्ने भन्ने अहिले नै कुनै आदेश अथवा निर्णय आएको छैन, छलफल र अनुसन्धानपछि निर्णय हुन्छ,’ सुवेदीद्वयको अवस्थाबारे पौडेलले बताए ।

सिआईबीले आफ्नो अनुसन्धानकै आधारमा उनीहरु दुई जनालाई पक्रिएकोले अनुसन्धान प्रतिवेदन नै फिर्ता पाएकोले पक्राउ परेका आरोपितद्वय हाजिरी जमानी वा तारिखमा छुट्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया