
‘कोरोनाको समयमा प्रवासी श्रमिकलाई ज्यालाको समस्या’
काठमाडौं – कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आबद्ध समितिले हिजो (सोमबार) काठमाडौँमा आयोजना गरेको ‘प्रवासी श्रमिकको मुद्दामा आधारित बागमती प्रदेशस्तरीय सम्मेलन’मा कोरोनाको समयमा श्रमिकलाई ज्यालाको समस्या भएको पाइएको बताइएको हो ।
कार्यक्रममा महासङ्घ नेपाल आबद्ध समितिका सदस्य एवं नेपाल निर्माण तथा सम्बद्ध श्रमिक सङ्घको महासचिव प्रदीप आचार्यले प्रवासमा नेपाली श्रमिकलाई धेरै समस्या रहेको भन्दै उक्त समस्या समाधानका लागि सबै एक भएर अगाडि बढ्ने निष्कर्ष भेलाले गरेको बताए ।
कोरोनाको समयमा श्रमिकलाई आफ्नो देश फर्कन समस्या, विदेश जान लागेका श्रमिक विदेश जान नसकी पैसा फसेर बसेका समस्या, विदेशमा काम गरेको ज्याला समयमा नपाउने समस्या, नेपाल फर्कन पाँचरछ महिना कुर्नुपर्ने समस्या, काम गरेको ज्याला घटाएर दिने समस्या र धेरै काम गर्नुपर्नेलगायत समस्या देखिएको सम्मेलनमा जानकारी गराइएको थियो ।
उक्त महासङ्घमा निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदुर युनियन र अखिल नेपाल निर्माण मजदुर सङ्घ आबद्ध छन् । उक्त तीन वटा सङ्घमा विदेशमा १७ हजार मजदुर आबद्ध रहेका छन् ।



कागजपत्र |
