समाचार प्रभावः ट्राफिक प्रहरीले पाउने भए प्रोत्साहन भत्ता


काठमाडौं – धुँवा, धुलोको प्रवाह नगरी दैनिक १८ घण्टाभन्दा बढी समय सडकमा बिताउने ट्राफिक प्रहरीले पुनः प्रोत्साहन भत्ता पाउने भएका छन्। मंगलबार अर्थ मन्त्रालयले प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो।

अनलाइनन्युज७सँगको कुराकानीमा अर्थमन्त्री जनार्दन शर्माले ट्राफिक प्रहरीलाई साविकमा उपलब्ध गराइएको प्रोत्साहन भत्ता नियमित गरिदिने निर्णय भएको बताए।

‘मंगलबार अर्थ मन्त्रालयको सचिव मधुकुमार मरासिनीलाई ट्राफिक प्रहरीहरुले पाउँदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराइदिन भन्दै निर्देशन दिइसकेको छु,’ अर्थमन्त्री शर्माले भने।

यसअघि २१ मंसिरमा ‘ट्राफिक प्रहरीले पाउने प्रोत्साहन भत्ता रोकिएकै हो?’ शीर्षकमा अनलाइनन्युज७मा समाचार प्रकाशित भएको थियो। त्यतिबेला अर्थमन्त्री शर्माले उपत्यकामा खटिने ट्राफिक प्रहरीहरुको पीडा राम्रोसँग बुझेकाले तत्काल एउटा निर्णय लिने बताएका थिए।

भत्ताको व्यवस्थासहित ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ स्वीकृतसँगै सोही अनुरुप अब ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने अर्थमन्त्री शर्माले बताए।

उनले थपे, ‘ट्राफिक प्रहरीको दुःखलाई नजिकबाट नियालिरहेको हुँदा उहाँहरुमा एकखालको हौसला प्रदान होस् भन्ने हिसाबले रोकिएको प्रोत्साहन भत्तालाई निरन्तरता दिने निर्णय गरेको छु।’

ट्राफिक प्रहरीले पाउँदै आएको भत्ता रोकिएपछि प्रहरी प्रधान कार्यालयले समेत चासो देखाएको थियो। आईजीपी शैलेश थापा क्षेत्रीले पहलको लागि पटक–पटक गृह मन्त्रालयदेखि अर्थ मन्त्रालयमा फाइल लगेका थिए।

अब गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयको स्वीकृतीलाई मन्त्रिपरिषद्को बैठकमा पेश गर्नेछन्। ‘मन्त्रिपरिषद बैठकबाट पास भएपछि ट्राफिक प्रहरीहरुले प्रोत्साहन भत्ता पाउनेछन्,’ प्रहरीका केन्द्रीय प्रवक्ता वसन्त बहादुर कुँवरले भने।

२०७७ साउनदेखि ट्राफिक प्रहरीले नियमित भत्ता पाउँदै आएपनि पाउन छाडेका थिए। निर्देशिकामा भत्ताको व्यवस्था भएपनि कोरोना भाइरस संक्रमणको महामारी, त्यसले निम्त्याएको लकडाउन आदिलाई कारण देखाएर ट्राफिक प्रहरीले पाउँदै आएको नियमित भत्ता रोकिएको २ वर्ष पुगेको थियो।

२ वैशाख २०७६ मा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा खटिने ट्राफिक प्रहरीका सिपाही तथा हबल्दारलाई ४० प्रतिशत प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) लाई २० प्रतिशत भत्ता दिने निर्णय कायम भएको थियो।

यसैगरी प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई १० प्रतिशत भत्ता दिने निर्णय तत्कालिन प्रहरी प्रमुख महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालको कार्यकालमा भएको हो। खनालले नै ट्राफिक प्रहरीको प्रोत्साहन भत्ताका विषयमा गृह मन्त्रालयमा प्रस्ताव लगेका थिए।

अब सोही अनुरुप ट्राफिक प्रहरीहरुले प्रोत्साहन भत्ता पाउनेछन्।

प्रतिक्रिया