माओवादीबाट निर्वाचित वडासदस्य नै सार्वजनिक कुलो मासेर जग्गा प्लटिङमा!

घडेरी बनाउनेलाई तत्काल कारबाही गर्न अख्तियारको निर्देशन


दाङ । घोराही–१७ भैसाहीको साबिक हरिद्वार ९ ‘ग’ ८१ नम्बर कित्तामा पर्ने चौघेरा, भैसाही, बर्गद्दी र ओखरा ४ गाउँ सिचाईं गर्ने सार्वजनिक कुलो मासेर जग्गा व्यवसायीले घडेरी बनाउन थालेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

घोराही उपमहानगरपालीकाका प्रशासनतर्फका उपसचिव बासुदेव आचार्यले अख्तियारले कार्यालयमा परेको उजुरी अनुसार कारबाही गर्न घोराही उपमहानगरपालिकालाई निर्देशन दिए लगत्तै उपमहानगर कडारुपमा प्रस्तुत भएको बताए।

उपमहानगरले तत्काल घोराही–१७ को वडा कार्यालय र कुलो समितिका अध्यक्ष उमानन्द खनाललाई पत्राचार गर्दै ७ दिनभित्र कुलो मास्ने उदेश्यले होम पाइप हाली माथिबाट माटो हालेर बनाएको सडक तत्काल रोक्न र होम पाइप निकालेर फाल्न लिखितरुपमा पत्राचार गरेको छ।

उपसचिव आचार्यले होम पाइप निकाल्न पत्राचार भइसकेको र ७ दिनभित्र कानुन विपरित हालिएको होम पाइप ननिकाले उपमहानगरले आफै स्काभेटर लगाएर फाल्ने बताए।

‘सार्वजनिक कुलो मासेर सडक बनाएको बारेमा अख्तियारमा ३ वटा उजुरी परेको रहेछ,’ आचार्यले भने, ‘अख्तियारले उपमहानगरलाई पत्र पठाएर उजुरी अनुसार कारबाही गर्न निर्देशन दिएको थियो।

अख्तियारले कारबाही गर्न भनेपछि उपमहानगरले प्राविधिक/इन्जिनियरसहितको टोली लगेर स्थलगत निरीक्षण पनि गर्यौं। त्यहाँ कुलो मासेर होम पाइप हाली त्यसमाथि माटो हालेर सडक बनाइएको रहेछ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने मन्त्रीपरिषदले नै निर्णय गरिसकेको कुरा हो। यसमा स्थानिय तह, स्वायत्त शासन ऐनमा पनि संरक्षण गर्नुपर्ने स्पष्ट उल्लेख छ।

प्राकृतिक बहाब कुलाका पानीको क्षेत्र नै रोक्ने गरि सार्वजनिक जग्गा मास्न खोज्नु गलत र कानुन विपरित कुरा भएकाले यसमा अख्तियारले कारबाही गर्न पनि निर्देशन भइसकेकाले ७ दिनभित्र होम पाइप हटाउन उपमहानगरले भनिसकेको छ।

यदि अटेर गरे हामी आफै अघि बढेर फाल्छौं। तत्काल होम पाइप फाले–नफालेको बिषयमा अनुगमन गर्न पनि वडा कार्यालयलाई निर्देशन दिएका छौं। यो बारेमा हामीलाई वडाले पनि प्रतिवेदन पठाउँछ।’

यसअघि प्रहरीमा पनि उजुरी परेपछि स्थलगत नै पुगेर जिल्ला प्रहरी कार्यालय दाङले काम रोक्न निर्देशन दिएको थियो। प्रहरीको निर्देशनपछि काम सबै ठप्प भएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश प्रसाद काफ्लेका अनुसार सार्वजनिक कुलो मासेर घडेरी बनाउने कार्य तुरुन्त रोक्न प्रहरी पठाएर निर्देशन दिएपछि सबै काम रोकिएको थियो। प्रहरीले फिल्डमा गएर काम रोकेपछि उपमहानगरलाई दबाब परेको थियो।

माओवादीबाट निर्वाचित घोराही–१७ का वडासदस्य तुलप्रसाद घिमिरे, दामोदर घिमिरेले स्थानीय केही जग्गा व्यवसायीसँग मिलेर कुलो मासेर जग्गा प्लटिङ गरेका हुन्।

प्रतिक्रिया