

पत्रकारको भेषमा ठगी गर्ने एन्जिना कार्की पक्राउ

काठमाडौं – लामो समयदेखि भारतीय सञ्चारमाध्यममा काम गरेकी एक पत्रकार ठगीको आरोपमा पक्राउ परेकी छिन् । भारतीय सञ्चारमाध्यम जीन्यूजको नेपाल रिपोर्टरबाट भर्खरै अलग्गिएको घोषणा गरेकी एन्जिना कार्की विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी हुन् ।
कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाखसहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनले एक सहकारीसँग लामो समयदेखि ठूलो रकम माग्दै आएको जनाइएको छ ।
कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेको जनाइएको छ ।
यसरी पटकपटक पत्रकारको भेषमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो ।
तीन वर्ष तराइ टेलिभिजन हुँदै हिमाल टेलिभिजन हुँदै भारतको जिटिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् ।
एक साताअघि मात्र उनले, ‘आजकै मितिदेखि भारतको चर्चित च्यानल जि न्युजसँग विश्राम लिएको छु …बाँकि अर्को भेटमा…’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन् । यसबाट उनी अहिले जिन्यूजसँग सम्बन्धित नरहेको पनि थाहा भएको छ । उनले ठगी कार्यका लागि उनको फेसबुकमा रहेका नेपालका सञ्चारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तिहरुसँगको तस्बिर पनि देखाउने गरेको बताइएको छ ।
उनले कतिपय स्थानमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खिचाएको तस्बिरहरुको पनि प्रयोग गरेको जनाइएको छ । उनलाई अहिले सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम समेत असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको जनाइएको छ ।
उनले भर्खरै मात्र निसान ब्रान्डको ‘किक्स’ गाडीको तस्बिर सार्वजनिक गर्दै, ‘भनिन्छ…मान्छेको भाग्य अनि भोगलाई कसैले जानेको हुँदैन…ईच्छा दिवस…खुसी दिवस…’ भनेकी थिइन् । उनी राजधानीकै एक अपार्टमेन्टमा बस्ने गरेको पनि जनाइएको छ ।

