

समयमै स्वास्थ्य संस्था नपुर्याउँदा रक्तश्रावबाट सुत्केरीको मृत्यु

बाजुरा – बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली-४ तिथिचौरकी २१ वर्षीया गंगा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्म दिएको केही समयभित्रै चदारको मृत्यु भएको हो । चदारका श्रीमान् बिनेले भने, ‘गंगा बिहान जङ्गलबाट घाँस काटेर आएकी थिइन् । आउने बित्तिकै पेट दुख्यो भनिन्, ‘केही समयपछि सुत्केरी भइन् तर, मृत्त शिशु जन्मियो ।’
चदार दम्पतीको पहिलो सन्तान छोरा छन् । गंगा गर्भवती भएको सात महिना भएको र स्वास्थ्य चौकीमा तीन पटक गर्भजाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ । जिल्लाका दुर्गम गाउँमा अझै स्वास्थ्य चौकीमा गर्भजाँच गर्न नजाने तथा घरमै सुत्केरी हुने चलन विद्यमान छ ।
घरमै सुत्केरी भएकी गंगालाई रक्तश्रावपछि स्वास्थ्य चौकी नलगीकन झाँक्री कहाँ लगिएको बताइएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्य चौकीमा गर्भजाँच तथा सुत्केरी हुन पालिकाले उच्च प्राथमिकता दिएको बताए ।

