भुपेन्द्र बडुवाल हत्या प्रकरणः १२ जना अभियुक्त सार्वजनिक, यसरी गरिएको थियो हत्या

बडुवाल हत्यामा संलग्न ९ जना अझै फरार


काठमाडौं – जिल्ला प्रहरी कार्यालय कैलालीले भुपेन्द्र बडुवाल हत्याका अभियुक्तहरुलाई सार्वजनिक गरेको छ। २१ जना अभियुक्तहरुमध्ये १२ जनालाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार बडुवाल हत्यामा संलग्न ९ जना अझै फरार रहेका छन्।

गत २३ कात्तिकमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर २९ स्थित सिद्धार्थ होटक नजिकै कौशीदेवी बिष्टको घरको आँगनमा धारिलो हतियार प्रहार गरी लम्कीचुहा–१ का २३ वर्षीय बडुवालको हत्या गरिएको थियो।

कैलाली प्रहरीले सोमबार पत्रकार सम्मेलन गर्दै अभियुक्तहरुलाई सार्वजनिक गरेको हो। आर्यन देवकोटाले समूहले बडुवालको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए।

अनुसन्धानबाट खुल्न आएको
लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेकापट्टामा आफ्नो बर्चश्व कायम गर्न लोकजंग शाही समेतले युवाहरुको समूह बनाई अपराधिक लाभको लागि परिचालन गर्ने गरेको ।

सो समुहलाई अशोक रावलले संरक्षण प्रदान गर्ने गरेको ।

शुरुमा एकै समूहमा रहेका जयन्द्र शाह र नविन रावल बीच पछि मनमुटाव तथा आपसी वैमनश्यता उत्पन्न भए पछि दुई समुहका युवाहरु बीच पटक पटक झै-झगडा हुन थालेको ।

यी समूहका सदस्यहरुको बिरुद्धमा यस जिल्ला मातहत तथा काठमाण्डौमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको देखिएको ।

यसै क्रममा २०७८ भाद्र महिनामा काठमाण्डौको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नविन रावल समूहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको ।

तत्पश्चात् कपिल श्रेष्ठले जयन्द्र समुहको तर्फबाट नविन रावल र निजको समूहमाथि आक्रमण गर्ने योजना बनाई २०७८/७/१७ गते काठमाण्डौबाट मोटरसाईकलमा हिडी मिति २०७८/७/२० गते लम्की पुगी मुनमुन होटलमा एक रात बसी २१ र २२ गते बौनिया स्थित अनुकूल होटलमा बसी नविन रावललाई आक्रमण गर्ने उपयुक्त अवसरको खोजीमा रहेको ।

मिति २०७८/७/२३ गते नविन रावल समेतको समुह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको थाहा पाएपछि कपिल श्रेष्ठले आफ्ना समूहलाई खबर गरी लम्की खेल मैदान मै आक्रमण गर्न खोजेको भएता पनि निजको समूह समय मै लम्की पुग्न नसकेका कारण सो ठाँउमा आक्रमण गर्न नसकेको ।

मदन शाहीले त्यहाँबाट पहिले नै लम्की बिद्युत कार्यालय नजिकको बाटोबाट टीकापुर हिडेका नविन रावल समेतलाई भेटी जयन्द्रको समूह हातहतियार सहित आक्रमणको तयारीमा रहेको जानकारी दिएपछि नविन रावलले आफ्ना समूहका (आर्यान, हिमाल, हेमन्त, मदन, चिरञ्जीबी, रोशन, निशान्त, धिरज, रोहित, सोहन, विकास शेरचन) लाई रोड साईड क्याफेमा जम्मा गरी जयन्द्र समुहको जुनसुकै व्यक्ति फेला पारी आक्रमण गर्ने योजना बनाएको ।

कपिल श्रेष्ठ एक्लिएपछि नयाँ टीकापुर क्षेत्रमा लुकी बसेको र त्यहाँबाट लम्कीमा रहेका मिल्ने साथी भुपेन्द्र बडुवाललाई फोन गरी आफुलाई लिन बोलाए पछि भुपेन्द्र निजलाई लिन टिकापुर गएको ।

यता नविन रावलको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियार सहित खोजीमा हिडेको । उक्त समूहमा सबैभन्दा अगाडि सो ठाउँका स्थानीय रोहित आलेसँग आर्यन देवकोटा पहिला स्कुटीमा, निजको पछाडि अर्को स्कुटीमा चिरञ्जिवी शाही र रोशन शाही र निजहरु भन्दा पछाडि नविन रावल समेत निस्केका ।

टिकापुरको जमरा पुल नजिक आर्यन देवकोटा समेतले भुपेन्द्र बडुवाललाई फेला पारी हामी विरुद्ध टिकापुरमा आएको हो भनी ईवी लिई करीव २ कि.मि. सम्म लखेटी सिद्धार्थ होटल नजिक पुर्‌याए पश्चात् भुपेन्द्र बडुवालले मो.सा. छोडी आफन्तको घर तर्फ जाँदा पछाडिबाट लखेटी आर्यन देवकोटा, चिरञ्जीवि शाही, रोशन शाही र रोहित आले समेतले कौशीदेवी विष्टको घरको पेटीमा नै भुपेन्द्र बडुवाललाई नियन्त्रणमा लिई पेट र छातीको भागमा २ पटक, पिठ्युको भागमा ३ पटक र टाउकोको पछाडि भागमा एक पटक धारिलो हतियार प्रहार गरी भागेका ।

हत्यामा संलग्न प्रतिवादीहरु नजिकै रहेको विष्ट आयल स्टोर नजिक पुगी भाग्ने योजना अनुसार खुकुरी सोही स्थानमा फालेको र रोहित आलेलाई आफ्नो घर तर्फ जान भनी पठाएको ।

नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जिवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुँदै जोशीपुर पुगी एक जनाले अपराध स्वीकार्ने र अरु भागी फरार रहने योजना अनुसार ऐ. २४ गते बिहान बौनिया बजारमा पुगी अपराध आफुले मात्रै गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनिया बजारमै रहेको र नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, र चिरञ्जिवी शाहीहरु लोकजंगले बनाएको योजना अनुरुप लोकेन्द्र कुँवरले बौनिया बजार भन्दा उत्तर तर्फको चायाँभावर गाउँमा लगी एक स्थानीयको घरमा लुकिछिपी बसेका ।

लोकजंगकै योजना अनुरुप चायाँ भावर गाउँमा रहेका फरार प्रतिवादीहरुलाई खाने बस्ने व्यबस्थापन गर्ने, खर्च रकम दिने र २५ गते निजहरुलाई भगाउन सबिन जंग शाहीले कार भाडामा लिई चायाभावर गई निजहरुलाई उक्त कारमा जुगेडासम्म ल्याएको ।

निजले नै २६ गते भारतीय बलेरो जीप भाडामा व्यवस्था गरी नविन रावल समेतलाई भारतको ढकिया गाउँसम्म पुगाई आफु फर्की आएको ।

नविन रावल समेतले प्रयोग गरेको २ वटा मोटरसाईकल लोकेन्द्र कुँवरले बौनियामा ल्याई नम्बर प्लेट चेन्ज गर्न लगाई बर्दिया भुरीगाउँ स्थित रोयल एडभेन्चर रिसोर्टमा लुकाई छिपाई राखेको ।

मिति २०७८/०७/२६ गते बिहान सबिनजंग शाहीले नविन रावल समेतलाई भारत तर्फ पठाई सके पश्चात् निजहरुका थान-५ मोबाईल आफुले लिई उक्त मोबाईल लुकाई छिपाई गर्न बनबेहेडा बस्ने डेबिड चन्द्र कडायतलाई राख्न दिएको ।

कसलाई कति सजाय माग दावी?

नविन, धिरज, आर्यन, मदन, निशान्त, विकास, प्रविण, रोहित, सोहन, चिरञ्जीवी, हिमाल, विकास खड्का, रोशन, अशोक र हेमन्त शाहीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम हुने सजाय (जन्मकैद) मा सोही संहिताको दफा ४१ (जीवित रहेसम्म) बमोजिम कैद सजाय । दफा १७७ (१) बमोजिमको कसुरमा।

लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (२) बमोजिम (जन्मकैद) सजाय । दफा १७७ (१) बमिजिमको कसुरमा ।

लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) (क) बमोजिम कसुर गरे सो सरह जन्म कैदको सजाय । दफा ३६ (१) र (२) को कसुरमा ।

पक्राउ परेका
१. लम्कीचुहा नगरपालिका -३ चिसापानी बस्ने बर्ष २३ को महेश रावल
२. ऐ. बस्ने बर्ष २० को धिरज भन्ने दिपेन्द्र शाही
३. ऐ. बस्ने बर्ष २० को आर्यन देवकोटा
४. ऐ. बस्ने बर्ष १९ को मदन शाही
५. ऐ. वडा नं.१ बस्ने बर्ष २२ को कपिल श्रेष्ठ
६. ऐ. बस्ने बर्ष १८ को दिपक, गोलु भन्ने निशान्त मल्ल
७. ऐ. वडा नं. ५ बस्ने बर्ष २८ को विकास खड्का
८. टीकापुर न.पा. १ बस्ने बर्ष २३ को प्रबिण रिमाल
९. जिल्ला बर्दिया राजापुर न.पा. ७ घर भई टीकापुर न.पा. १ ब्लक नं. २५ बस्ने बर्ष २१ को रोहित आले
१०. ऐ. ब्लक नं. १४ बस्ने बर्ष २५ को सोहन शाह
११. बर्दगोरिया गा.पा. २ झगढपुर बस्ने बर्ष २५ को लोकेन्द्र कुँवर
१२. बर्दिया ठाकुरबाबा न.पा. ३ गोदाना बस्ने बर्ष २६ को सन्तोष भन्ने सविन जंग शाही

फरार प्रतिवादीहरु
१. लम्कीचुहा नगरपालिका -३ चिसापानी बस्ने बर्ष २७ को नविन रावल
२. ऐ. बस्ने बर्ष अं. २६ को अनुज भन्ने चिरञ्जीबी जंग शाही
३. ऐ. बस्ने बर्ष अं. २६ को हिमाल शाही
४. जानकी गा.पा. ६ जगतपुर बस्ने बर्ष अं. २८ को जयन्द्र शाह
५. टीकापुर न.पा. १ बस्ने बर्ष २७ को बिकास शेरचन
६. लम्की चुहा ४ बस्ने बर्ष २४ को रोशन बहादुर शाही
७. टीकापुर ६ बस्ने बर्ष अं. ३५ को अशोक रावल

८. लम्की चुहा ३ बस्ने बर्ष अं. ३२ को लोक जंग शाही
९. बर्दिया गरुवा गापा ५ बस्ने बर्ष अं. २२ को हेमन्त शाही

प्रतिक्रिया