२० देशमा फैलियाे कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’, नेपालमा पनि थालियो सतर्कता


काठमाडौं – कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ । दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ ।

तर नयाँ भेरिन्ट देखिएसँगै विश्व स्वास्थ्य संगठनले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाव दिँदै आइरहेको छ ।अहिलेसम्म विश्वका २० देशमा नयाँ भेरियन्टका संक्रमित भेटिएसँगै नेपालमा पनि सतर्कता अपनाइएको छ ।

नयाँ भेरियन्टका संक्रमित अहिलेसम्म सबैभन्दा बढी दक्षिण अफ्रिकामा भेटिएका छन् । हालसम्म सार्वजनिक रिपोर्ट अनुसार दक्षिण अफ्रिकामा ७७ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको छ ।

दक्षिण अफ्रिकापछि बोत्सवनामा १९, बेलायतमा १४, नेदरल्यान्ड्समा १४ र पोर्चुगलमा १३ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको छ । यस्तै अस्ट्रेलिया, जर्मनी, इटालीमा, क्यानडा, हङकङ, डेनमार्क, इजरायल, जापान, फ्रान्स, चेक रिपब्लिक, बेल्जियम, अस्ट्रिया, स्विडेन, स्पेन र दक्षिण कोरियामा पनि नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएका छन् ।

डब्ल्यूएचओले कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस मानिसबाट मानिसमा सजिलै सर्छ या यसले मानिसको स्वास्थ्यमा के कति मात्रामा क्षति गर्छ भन्ने विषयमा अनुसन्धान जारी रहेको र अहिले नै यसको खतरनाक स्वरुपका बारेमा स्पष्ट नभएको आइतबार जनाएको छ ।

नेपालमा पनि ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकबाट आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश जारी भएकाे छ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउने निर्णय गरेको छ ।

यही मंसिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोनको सङ्क्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया