
एमाले महाधिवेशनः सूचीमा नपरेका चार केन्द्रीय सदस्य निर्विरोध
काठमाडौँ – बन्दसत्रमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको प्रस्तावित सूचीमा नपरेका ४ जना नेताहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
अरविन्द सिंह, सुमन प्याकुरेल, रञ्जना सरकार र उषाकिरण तिमल्सेना निर्विरोध निर्वाचित भएका हुन्। प्रदेश २ को खुलाबाट अरविन्द सिंह र सुमन प्याकुरेल, महिलाबाट रञ्जना सरकार निर्विरोध निर्वाचित भएका हुन्।
त्यसैगरी खुला महिलाबाट उषाकिरण तिमल्सेना पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएकी छिन्।
आइतबार बेलुकी अध्यक्ष ओलीले पार्टीलाई एकताको सन्देश दिन सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै १९ जना पदाधिकारीसहित ३ सय १ जना सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गरेका थिए।
प्रदेश २ को भूगोल खुलातर्फ प्रभु हजारा र मोहम्मद सुमनको नाम रहेको थियो । त्यसैगरी हजाराले मधेशी खुलातर्फ पनि नाम घोषणा गरेका थिए। मोहम्मद सुमनको नाम खुला मुस्लिममा पनि राखिएको थियो।
त्यसैगरी ज्वाला साहको भूगोल र मधेशी महिलामा नाम रहेको थियो। जसमा भूगोलतर्फ सिंह र प्याकुरेल र भूगोल महिलातर्फ रञ्जना सरकार निर्विरोध निर्वाचित भएका हुन्।
खुला महिलातर्फ ५४ जनाको उम्मेदवारी परेको थियो। अध्यक्ष ओलीले नाम घोषणा गरेका ५३ जना महिला नेताहरुसहित तिमल्सेनाले पनि उम्मेदवारी दर्ता गरेकी थिइन्। सो क्लष्टरमा निर्विरोध निर्वाचित गराउनका लागि अध्यक्ष ओलीले राखेको नामबाट अर्चना गहतराजले नाम फिर्ता लिएकी थिइन्।



कागजपत्र |
