ओलीजी र आफू जेलमेट हौं, सँगै दुःख भोगेका छौंः प्रधानमन्त्री देउवा


काठमाडौं – चितवनको नारायणी किनारमा सुरू भएको नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिँदै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको बताएका छन्।

लोकतन्त्र स्थापनाका लागि ओलीसहित धेरै वामपन्थी नेताहरूसँगै आफू पनि जेल बसेको स्मरण गर्दै देउवाले भने, ‘केपी ओलीजीलगायत धेरै वामपन्थी साथीहरू र हामी सँगै जेलमा थियौं। हामी जेलमेट पनि हौं। हामीले सँगै दुःख भोगेका हौं।’

हिजोका दिनमा हामीले भोगेका दुःख सम्झेर भोलिका दिनमा कुनै नेपालीले दुःख नपाउन् भन्नेमा केन्द्रित हुनुपर्ने देउवाको भनाइ थियो।

नेपालका राजनीतिक दलहरूले मिलेरै संविधानसभाबाट संविधान जारी गरेको स्मरण गराउँदै देउवाले राजनीतिक असहमतिहरूको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्ने बताए।

विद्यमान विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्ने प्रस्ट पार्दै एमालेलाई उक्त मान्यतामा प्रतिबद्ध हुन प्रधानमन्त्री देउवाले आह्वान समेत गरेका छन्।

देउवाले सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको रहेको प्रस्ट पारे ।

‘हामीबीच मत भिन्नता छन्, त्यसैले अलग अलग दलमा आबद्ध छौँ,’ उनले भने, ‘तर लोकतान्त्रिक मूल्यलाई जीवनपद्धति बनाउने, देश र जनताको हितलाई रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छ।’

प्रतिक्रिया