एक महिनाअघि दुबई गएका सहनी र चौधरीले ल्याए २ किलो सुन!


काठमाडौं – एक महिनाअघि सिरहाका सरोज सहनी र दाङका सीताराम चौधरी संयुक्त अरब इमिरेट्स (युएई) अर्थात दुबई गएका थिए। धेरैलाई लाग्छ, उनीहरु रोजगारीको लागि युएई गएका हुन्।

एक महिनाअघि युएईका गएका उनीहरु शुक्रबार बिहान ९ः४५ बजे नेपाल एयरलाइन्सको जहाजमार्फत फर्किए। तर, उनीहरु रोजगारीको लागि नभएर तस्करीको लागि युएई गएको खुल्न आएको छ।

उनीहरु युएई गएको एक महिनामै नेपाल फर्किएको कुरा कसैलाई थाहा पनि थिएन, उनीहरु बाहेक। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं ओर्लिएका उनीहरु सुरुमै प्रहरीको निगरानीमा रहे।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलबाट निस्किँदै गर्दा उनीहरुको हिँडाइ अस्वभाविक देखेपछि प्रहरीले उनीहरुलाई बोलाएर केरकार गर्न थाल्यो। त्यसो त युएईबाट आउने भनेपछि विमानस्थल प्रहरीले सबैमाथि निगरानी बढाएको हुन्छ।

बाहिर निस्कँदै गर्दा हिँडाइमा शंकास्पद लागेपछि बोलाएर केरकार गर्दा उनीहरुको बोली नै लरबरायो। प्रहरीलाई झनै उनीहरुमाथि शंका लाग्यो, कतै उनीहरुले सुन तस्करी त गरेका छैनन्?

युएईबाट फर्किएर आउनेहरुले मलद्वार, जुत्ता, कम्मर पछाडि तस्करीको सुन ओसारपोसार गरेको थुप्रै घटनाहरु छ। शंका लागेपछि प्रहरीले उनीहरुलाई शौचालयमा लग्यो।

शौचालयमा लगेर भित्री वस्त्र खोल्न लगाउँदा उनीहरु दुवै जनाको साथबाट पहेंलो गिलो वस्तु फेला पर्यो। सुरुमा त गिलो पहेंलो वस्तु देख्दा अफ्ठ्यारो भएको विमानस्थलका एसएसपी राजेशनाथ बास्तोलाले बताए।

‘शंका लागेर उनीहरुलाई शौचालयमा लगेर भित्री वस्त्र खोल्न लगायौं,’ एसएसपी बास्तोलाले भने, ‘सुरुमा भित्री वस्त्रमा पहेँलो गिलो कुरा देख्दा हेर्न पनि अफ्ठ्यारो भयो, तर दुवै जनासँग उस्तै चिज देख्दा सुन नै भन्ने कुरामा विश्वस्त भइहाल्यौं।’

बरामद सुन लगत्तै परीक्षणका लागि भन्सार कार्यालय पठाइएको थियो। त्यसक्रममा बरामद धातुको ९८ प्रतिशत सुन भएको पुष्टि भएको बास्तोलाले बताए। बाँकी रहेको थोरै वस्तु चाहिँ सुन पगाल्न प्रयोग भएको ‘सल्फर’ नामक केमिकल रहेको खुलेको छ।

हालसम्मको अनुसन्धानले उनीहरु सुन ल्याउन प्रयोग भएको भरिया मात्र हुनसक्ने देखाउँछ। एसएसपी बास्तोलाका अनुसार उक्त सुन युएईबाट कसले पठाएको हो उनीहरुले केही बताएका छैनन्।

‘एक महिनाअघि मात्र युएई गएका उनीहरुले आफ्नो सुन भने ल्याएका होइनन्,’ बास्तोलाले भने, ‘सुन ल्याउने जिम्मा मात्र दिइएको जस्तो देखिन्छ, कसले रिसिभ गर्ने हो खुलेको छैन।’

उनीहरुले नेपालमा सुन रिसिभ गर्नेहरुको नाम बताइसकेको प्रहरीले जनाएको छ। तर, प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन। ‘नाम बाहिर आउनासाथ उनीहरु भाग्ने भएकाले सार्वजनिक नगरका हौं,’ बास्तोलाले भने।

सुन ओसार्ने प्रयोजनकै लागि मात्र उनीहरुलाई नेपालबाट युएई पठाएको पनि हुनसक्ने आशंका गरिएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया