‘साथीलाई अप्ठेरो परेको छ भन्दै लिएर गए, पुग्ने बित्तिकै खुकुरी र चक्कु हानेर मारे’


काठमाडौं – गत मंगलबार राति कैलालीको टीकापुरस्थित सिद्धार्थ होटल नजिक धारिलो हतियार प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या भयो। हत्यामा संलग्न ८ जनालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरिसकेको छ।

बडुवालको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले चक्कु प्रहार गर्ने आर्यन देवकोटासहित ८ जनालाई पक्राउ गरेको कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए।

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ का २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान मल्ल, २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन्।

तर, बडुवालको हत्या योजनाबद्ध रुपमा भएको प्रहरीको अनुमान छ। पुरानो रिसिईबीलाई लिएर बडुवालको हत्या भएको हुनसक्ने एसपी अधिकारी बताउँछन्। ‘रिसिईबी के थियो अहिले नै खुलिसकेको छैन। यस विषयमा अनुसन्धान भइरहेको छ,’ उनले भने।

००००

मंगलबार राति खाना खाएर बसेका बडुवाललाई एक युवकले घरबाटै लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ। साथीलाई अप्ठेरो परेको छ भन्दै उनका साथी कपिल श्रेष्ठले राति ८ बजे घरबाट लिएर गएका हुन्।

दसैंमा घर गएका भुपेन्द्र काठमाडौंमा बहिनीसँग बस्दै आएका थिए। कपिल पनि मंगलबार मात्रै काठमाडौंबाट कैलाली पुगेका हुन्। कपिल र भुपेन्द्र एकदम मिल्ने साथी पनि हुन्।

एक वर्षअघि नवीन रावलसँग झगडा पर्दा कपिलको झगडा परेको खुलेको छ। नवीनले कपिलको घरमै गएर उसको बुबालाई हिर्काउने तथा घरमा ढुंगामुढा गरेका थिए। त्यतिबेला झगडा परेका नवीन र कपिल अहिले राम्रो साथी थिए।

नवीन र महेशकै आग्रहमा कपिल भुपेन्द्रलाई बोलाउन घर गएका थिए। बडुवाललाई सुरूमा कपिलले टीकापुरस्थित केराबारीमा पुर्‍याए। त्यहाँ अन्य साथीहरु थिए। भुपेन्द्रलाई देख्ने बित्तिकै लखेट्दै–लखेट्दै होटल सिद्धार्थनजिक पुर्‍याएर हत्या गरेको खुलेको छ।

रड, खुकुरी र चक्कु हानेर भुपेन्द्रको हत्या गरेको प्रहरीको अनुमान छ। अनुसन्धान अधिकारीका अनुसार शंकास्पदहरू प्रहरीको निगरानीमा छन्। कपिल पनि त्यसैले प्रहरीको निगरानीमा छन्।

बडुवाललाई एक समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ।

भूपेन्द्र अमेरिका जाने तयारीमा थिए। डिभी परेपछि उनी अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए। उनी काठमाडौंमा ब्याचलर्स पढिरहेका थिए।

बडुवालका बुवाआमा लम्कीचुहामा व्यापार गर्छन्। उनीहरू साधारण व्यापारी हुन्।

हत्या गरिएका बडुवालको शव बुधबार परिवारले बुझेर अन्त्येष्टि गरेका छन्। हत्याको विरोधमा बुधबार दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको थियो।

प्रतिक्रिया