बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट एक लाख ७५ हजार सहयोग


काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाको सहयोगका लागि एक लाख ७५ हजार रुपैयाँ सहयोग जुटेको छ। तिहारका अवसरमा देउसी भैलो खेली सहयोग जुटाइएको बेवारिसे गाईबाच्छा संरक्षण अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए।

गाईबाच्छा संरक्षणस्थलमै भएको देउसी भैलो कार्यक्रममा करिब २०० भन्दा बढी मानिसको सहभागिता थियो। गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका–७ का अध्यक्ष केशव गुरुङ र वडा नं ८ का अध्यक्ष मनोज ढुङ्गाना, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष श्रीप्रसाद चापागाईंलगायत स्थानीय तहका जनप्रतिनिधिको पनि देउसी भैलोमासहभागिता थियो।

विभिन्न कारणले सडकमा छोडिएका १०० भन्दा बढी गाईबाच्छालाई अभियानकर्मीले संरक्षण गर्दै आएका छन् । संरक्षणस्थलमा गाईको सङ्ख्या थपघट भइरहने गरेको छ। विसं २०७५ जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी भागस्थित वाग्मती किनार नजिकको जग्गामा गाईबाच्छा संरक्षण गरिएको थियो।

कोरोना महामारीका कारण विसं २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरिएका बेला सडकमा गाईबाच्छा बढ्न थालेकाले कोषले गौशाला बनाउन जग्गा उपलब्ध गराएको थियो। यहाँ २०७७ जेठ २ गतेदेखि गाईबाच्छा संरक्षण सुरु गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए। देउसी, भैलौ, जन्मदिनलगायत दाताले दिने सहयोगबाट १०० भन्दा बढी गाईबाच्छाको संरक्षण हुँदै आएको छ। अभियानमा केही अभियानकर्मीले स्वयंसेवीका रुमपा सहयोग गर्र्दै आएको पनि जनाइएको छ।

प्रतिक्रिया