सार्वजनिक जमिनमा सामूहिक खेती गरिँदै


तनहुँ – तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित सिसुवा भतेरी कृषि सहकारीले खेर गइरहेको बाँझो जमिनको सदुपयोग गरी सामूहिक खेती गर्दै आएको छ । संस्थाले सोही ठाउँस्थित मादीनदी किनार नजिकै रहेको सिसुवा भतेरीका जग्गामा मौसम अनुरूपको बाली लगाउँदै आएको हो ।

सहकारी संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्न थालेपछि आफ्नो जमिन नभएका आलु तथा धान लगाउन अँधिया खोज्दै अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसीमान्तकृत बोटे, अल्पसंख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनका लागि सामूहिक खेती गर्ने अवसर दिएपछि उनीहरू खुशी भएका छन् ।

विपन्नको आयआर्जनका लागि वडा कार्यालयले १० वर्षका लागि सो सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न दिएको हो । विगत ४ वर्षअघि देखि नै सामूहिक खेती गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए । सहकारीले आयआर्जनका लागि करीब १ लाख रुपैयाँको लागतमा जमिन सम्याएर खेत बनाएपछि खेती गर्न थालेको उनले बताए ।

सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि १७ लाख पर्ने ट्रयाक्टर सहयोग गरेपछि थप उत्साहित भएको संस्थाले जनाएको छ । चरिचरन बन्द गरी स्थानीय उपभोक्ताले नै प्रयोग गर्नुस् भनेर भेला राखेर सहकारीमार्फत सामूहिक खेतीको प्रयास गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए ।

जसको जग्गा छैन उनीहरूलाई प्राथमिकता दिएर समूह बनाइएको छ । ‘मैले काम पाइनँ, मैले गरी खान पाइनँ’ भन्नेहरूका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएपछि समस्या हटेको उनले बताए ।

प्रतिक्रिया