देहरादुनमा सञ्चालन भयो भारतकै पहिलो नेपाली भाषाको सामुदायिक रेडियो ‘घाम छायाँ’


देहरादुन – भारतको उत्तराखण्डस्थित देहरादुनमा नेपाली भाषाको रेडियो सञ्चालन भएको छ । गोर्खाली समुदायमा आधारित ‘घाम छाया’ नामक सामुदायिक रेडियो भारतकै पहिलो सामुदायिक रेडियो भएको दाबी गरिएको छ ।

सो रेडियोसँग सम्वद्ध पूर्वा सिंहका अनुसार अक्टोबर २० का दिन उक्त रेडियोको उद्घाटन उत्तराखण्डका गर्भनर लेफ्टिनेन्ट जनरल (रिटायर्ड) गुरमित सिंहले गरेका थिए ।

सो कार्यक्रममा बोल्दै उनले गोर्खाली समुदायको वीरता र योगदानको स्मरण गर्दै महावीर चक्र प्राप्त महावीर थापा, क्याप्टेन के एस थापा, कर्णेल धनसिंह थापा लगायतको नाउँ लिएर श्रद्धासुमन प्रकट गरेका थिए । उनले आफ्नो फौजी जीवनमा गोर्खालीहरुसँगको सम्बन्धलाई समेत संप्रेषण गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै उत्तराखण्डका क्याविनेट मन्त्री गणेश जोशीले गोर्खालीहरुको धर्म, भाषा र संस्कृति तथा सामुदायिक हितका लागि रेडियोबाट योगदान पुग्ने अपेक्षा गरेका थिए ।

No description available.

सो कार्यक्रममा लेफ्टिनेन्ट जनरल शक्ति गुरुङ, रामसिंह प्रधान, व्रिगेडियर पिएस गुरुङ, क्याप्टेन पदमसिंह थापा, मधु गुरुङ तथा पुनम छिरीङ, विजयराज लगायतका विशिष्ठ व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।

रेडियो कार्यक्रम संचालिका पुर्वा सिंहका अनुसार यो रेडियो स्थापनाको आधार ८३ वर्ष पुरानो ‘गोर्खाली सुधार सभा’ नै हो । रेडियोको यो प्रयासमा मधु गुरुङको पहललाई एक मुख्य कडिको रुपमा मान्न सकिन्छ । नयाँ गाउँमा एउटा स्टोर रुमबाट सुरु भएको सो रेडियोले मशुरीको रेडियो खुसीसँग १ घण्टा समय लिएर कार्यक्रम चलाउँदै आएको थियो ।

कार्यक्रम रेर्कड गरेपछि त्यहाँबाट बजाएर देहरादुनका गोर्खालीको भाषा र संस्कृति प्रवद्र्धनको प्रयास गरिएको थियो । प्राविधिक बाहेक ६ जना स्वयमसेवीहरुका माध्यमबाट सो रेडियोले जीवनयात्रा अघि बढाएको थियो ।

No description available.

भारतमा रेडियोको लाइसेन्स लिन निकै गाह्रो हुने र त्यसमाथि गोर्खाली समुदायको प्रयास सार्थक बनाउन निकै संघर्ष गर्नुपर्यो । १५–१६ लाख धरौटी पुर्याउनका लागि ONGC को फन्ड सहयोग महत्वपूर्ण रहेको छ । साथै सहीद गौतम गुरुङ ट्रष्टलगायतको सहयोग र योगदान पनि यसमा जोडिएको छ ।

कार्यक्रम संचालिका सिंहका अनुसार सो रेडियोको ‘चीया गफ,’ ‘भेटवार्ता’, ‘लेखक र लेखन’ लगायत कार्यक्रम सिंह आफै संचालन गर्छिन् भने रेडियोमा धार्मिक कार्यक्रम, महिला संसार ‘मर्निङ कफी’ लाहुरेको गाथा, विभूति, स्वास्थ्य संसार र पुरानो जिन्स लगायतका कार्यक्रम चल्ने भएका छन् । ९०.० फ्रिक्वेन्सीमा बज्ने सो रेडियो हाल ८ घण्टा चल्ने बताइएको छ । देहरादुनका नेपाली भाषी गोर्खा समुदाय रेडियोको औपचारिक उद्घाटनपछि उत्साहित भएका छन् । सिंहका अनुसार देहरादुनका नेपालीको एउटा सपना पूरा भएको छ ।

 

प्रतिक्रिया