सर्लाही जुवा काण्डः प्रहरी र सशस्त्रका एसपी तानिए, सीडीओ जोगाउन चलखेल


काठमाडौं – जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतो समेतसँग सार्वजनिक स्थानमा जुवा खेलेको भिडिओ सार्वजनिक भएसँगै सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बल, नेपालका एसपी गंगाराम श्रेष्ठमाथि कारबाही भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले एसपी राठौरलाई कारबाही गर्दै उनको जिम्मेवारी खोसेको छ। सर्लाहीको इन्चार्जमा २ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसपी कृष्ण प्रसाईलाई पठाइएको छ भने राठौरको प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएको छ।

प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले राठौरले जुवा खेलेको भिडिओ सार्वजनिक भएपछि सर्लाही प्रहरी प्रमुखको फेरबदल गरिएको अनलाइनन्युजलाई जानकारी दिए। ‘जुवाकाण्डबारे अनुसन्धान भइरहेको छ,’ उनले भने।

त्यस्तै सीडीओ महतोसँग तास खेलेका सशस्त्र प्रहरी बलका एसपी श्रेष्ठको समेत जिम्मेवारी खोसिएको छ। उनको ठाँउमा अर्का विवादित एसपी भरत खनियाँको काज सरुवा भएको छ भने श्रेष्ठको सशस्त्र हेर्डवार्टरमा सरुवा भएको हो।

एसपी खनियाँ यसअघि रुपन्देहीमा सुरक्षा प्रबन्ध मिलाउन चुकेपछि तानिएका थिए। तर, त्यस्तो विवादित व्यक्तिलाई सशस्त्र प्रहरीले सर्लाहीको जिम्मेवारी दिएको हो। सशस्त्रभित्र शक्ति केन्द्र रिझाएर एकपछि अर्को कमाण्ड पाउने भाग्यमानी एसपीमा कहलिएका अधिकृत खनियाँ रहेको चर्चा हुने गर्छ।

एसपीसँग बसेर जुवा खेल्ने सीडीओलाई जोगाउने खेल

जिल्लाभित्र जुवा मुद्दा अन्तर्गत कारवाही गर्ने मुद्दाको फैसला गर्ने अधिकारी नै एसपीहरुसँग बसेर जुवा खेलेको भिडिओ मिडियामार्फत सार्वजनिक हुँदा पनि उनीमाथि कारबाही हुन सकेको छैन।

सीडीओलाई कारबाही गर्ने अधिकार गृह मन्त्रालयसँग मात्र छ। तर, सीडीओ महतोलाई जोगाउन मन्त्रालय लागि परेको उच्च स्रोतले बतायो। सर्लाही सीडीओबाट नहट्नको लागि महतोले शक्तिकेन्द्रमार्फत दबाब दिएको स्रोतको दाबी छ।

त्यहि भएर मन्त्रालय महतोविरुद्ध मौन रहेको छ।

नेपाल प्रहरीका एसपी र सशस्त्र प्रहरीका एसपीद्वयलाई कारबाही गर्दै जिम्मेवारी खोसिदिएको अवस्थामा सीडीओ महतोमाथि किन कारबाही हुन सकेन्? यस विषयमा मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणीन्द्रमणी पोखरेलले प्रहरीको एसपी तानिएको कुरा मात्र थाहा भएको बताए।

‘प्रहरीका एसपीको सरुवा भएको हो,’ प्रवक्ता पोखरेलले भने, ‘अन्य कुरा मलाई थाहा छैन। सशस्त्र प्रहरीका समेत एसपी तानिएको कुरादेखि सीडीओको बारेमा केही थाहा थाहा छैन।’

धनुषाका एसपीविरुद्ध प्रधान कार्यालयको एक्सन!

प्रहरी प्रधान कार्यालयले शान्ति सुरक्षा कायम राख्ने जिम्मा पाएका धनुषाका एसपीलाई समेत कारबाही गरेको छ। धनुषामा कार्यरत प्रकाश रानाभाटलाई कारबाही गर्दै उनको पनि जिम्मेवारी खोसिएको हो। रानाभाटको कार्य विभागमा सरुवा छ।

रानाभाटको स्थानमा एसपी बसन्त रजौरेलाई पठाइएको छ। रानाभाटविरुद्ध प्रधान कार्यालयको उजुरी छानबिन शाखामा दर्जनभन्दा बढी उजुरी रहेको चर्चा छ। थुप्रै उजुरी परेपछि रानाभाटलाई धनुषाबाट तानिएको प्रधान कार्यालय स्रोतले जानकारी दियो।

प्रतिक्रिया