यमन हवाई आक्रमणमा २६० हुथी विद्रोही मारिएको साउदी गठबन्धनको दाबी


काठमाडौं – यमनमा पछिल्लो तीन दिनमा २६० हुथी विद्रोही मारिएको साउदी अरेबिया नेतृत्वको गठबन्धनले दाबी गरेको छ । अलजाजिराका अनुसार यमनको रणनीतिक हिसाबमा महत्वपूर्ण मारिब सहरमा उक्त संख्यामा विद्रोही मारिएको साउदी गठबन्धनले बताएको हो ।

अहिलेसम्म मृत्यु हुनेको संख्याबारे स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । हुथी विद्रोहीले सामान्यतयाः आफ्नो नोक्सानी भएको सार्वजनिक गर्दैन । साउदी गठबन्धनले भने पछिल्लो तीन दिनमा हुथी विद्रोहीको ३६ सैन्य सवारीसाधन पनि ध्वस्त पारिएको दाबी गरेको छ ।

पछिल्लो दुई सातामा साउदी गठबन्धनले निरन्तर यमनको मारिबमा हवाई आक्रमण गरिरहेको छ । गत साता साउदी गठबन्धनले मारिबको दक्षिणी क्षेत्रमा १६० हुथी विद्रोही मारिएको दाबी गरेको थियो ।

यमनमा सन् २०१४ मा हुथी विद्रोहीले राजधानी सनामा कब्जा जमाएपछि गृहयुद्ध सुरु भएको थियो । अहिलेसम्म यो युद्धमा हजारौंको मृत्यु भइसकेको छ । युनिसेफका अनुसार सात वर्षदेखि चलेको यो युद्धमा १० हजार बालबालिका घाइते वा मारिएका छन् । एजेन्सी

प्रतिक्रिया