सुन बेच्न ग्राहक खोज्दै हिँडेका दुईजना १८ लाख नगदसहित पक्राउ


काठमाडौं – सुनसरीको धरानबाट स्रोत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगद बरामद भएको छ। सुन र नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

रत्न रोडबाट धरान–१५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका–२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो। रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख फेला परेको हो।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेन्द्र कुँवरका अनुसार सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ। नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो।

बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ। दुवै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए।

सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपी कुक्वरले बताए। उनले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको बिल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ। के हो भन्ने थप अनुसन्धानबाट खुल्ने छ।’

प्रतिक्रिया