सिटिजन बैंकका सुरक्षा गार्डमाथि गोली प्रहार गर्ने ३ लुटेरा पक्राउ


मोरङ – धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन बैंक शाखामा शुरक्षा गार्डलाई गोली प्रहार गरी लुटपाट गर्ने समूहका तीन जना पक्राउ परेका छन् ।

तीमध्ये दुई भारतीय नागरिक भएको र एक विराटनगरका बासिन्दा भएको सुरक्षा स्रोतले जनाएको छ । लुटेरा समूहको गोली लागेर बैंकका सुरक्षा गार्ड रंगेली नगरपालिका २ का सीतल कुंवर घाइते छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।

कुंवरको घाँटीको पछाडि भागबाट गोली लागेको र एक्स-रे गरी हेर्दा शरीरमा गोली नदेखिएकोले गोली निस्केको हुनसक्ने उपचारमा संलग्न चिकित्सकले बताए । लुटेरा समूहलाई सुरक्षा गार्डले रोक्न खोजेपछि लुटेरा समूहले तीन राउण्ड गोली चलाएको स्थानीयको भनाइ छ ।

लुटेरा समूहले बैंकभित्र प्रवेश गरेर के कति लुटपाट गरे भन्नेबारे अहिले केही खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । बैंक लुटेर भाग्दै गरेकामध्ये तीन जनालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको श्रेष्ठले बताए । तीनै जनालाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया