एनआरएनए आइसीसी महिला संयोजकमा अमेरिकाबाट उमा कार्की थापाको दाबेदारी


काठमाडौं– ‘जीवनमा सबैभन्दा ठूलो कुरा कर्मप्रतिको लगाव र निरन्तरता नै हो रहेछ। कुनै विधा वा क्षेत्रमा केही गर्छु भनेर लाग्नुस् त्यसमा समय कहिले बाधा बन्दैन। समयलाई कारण बनाएर जीवनमा उत्साही हुन छाड्ने हो भने कहिले गन्तव्य समात्ने? कहिले लक्ष्य चुम्ने?’

उपरोक्त कुरा राम्ररी बुझेकी छन् उमा कार्की थापाले। त्यसैले त आज उनी अमेरिका मात्र होइन, प्रवासमा रहेका समस्त गैरआवासीय नेपालीहरू माझ उत्साही, एवम् निःस्वार्थी समाजसेवीको रूपमा चिनिन्छिन् र, सोहीअनुसार स्थापित छिन्।

कर्मथलो अमेरिका भएता पनि उमाले नेपाल, नेपालमा रहेका नेपाली, अमेरिकामा रहेका नेपाली र अन्य मूलुकमा रहेका प्रवासी नेपालीहरू माझ आफ्नो बलियो उपस्थिति जनाउँदै सकारात्मक छाप छोड्न सफल भएकी छिन्।

यिनै परिचय र सबैको साथ अनि उत्प्रेरणा पाएर नै उमाले गैरआवासीय नेपाली संघको २०२१–२०२३ को लागि आइसीसी महिला संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेकी छन्। ‘म एक्लै त के हो र? यसमा त मलाई साथ र हात दिनेहरूकै मन बलियो भएका कारण यो उम्मेदवारी दिने निर्णय गरेकी हुँ। उहाँहरुले तिमी अगाडि बढ़ भन्नुभयो, म बढेँ’– उमाको मिजासिलो जवाफ छ।

समाजसेवा र समाजप्रतिको दायित्वलाई उमाले कहिल्यै पनि भुलिनन्। अमेरिका छिरेदेखि उनले समाजसेवाप्रति देखाएको चासो अनि निभाएको कर्तव्यको प्रवासी नेपालीहरू खुलेर तारिफ गर्ने गर्छन्। समाजसेवामूलक सस्थासँगको उनको आबद्धता र सक्रियता हेर्दा एउटा मान्छेले यति धेरै संलग्नतालाई सहजताका साथ निर्वाह गर्न सक्दो रहेछ भन्ने कुराको गतिलो उदाहरण पनि हुन् उमा।

गणेश तीर्थ फाउण्डेसनकी अध्यक्ष समेत रहेकी उमा गैरआवासीय नेपाली संघ अमेरिकाको २०१९–२०२१ को क्षेत्रीय महिला संयोजक हुन्।

यसैगरी एनआरएनए अमेरिकाको २०१७–२०१९ को उपाध्यक्ष हुन् भने एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकपनि भैसकेका छिन्।

एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन्। अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा कार्कीले यो संस्थालाई चार वर्ष सफलताका साथ चलाएका थिइन्। सन २००८–२०१२ सम्म साउथ एसिएन नेटवर्कसँग आवद्ध रहँदा उनको कार्यशैली र समाससेवाप्रतिको लगावको आज पनि तारिफ हुने गरेको छ।

श्री पशुपति फाउण्डेसन अमेरिकाको टिम मेम्बर कार्की लामो समयदेखि संस्थामा रहेर काम गर्दै आएको अनुभवकी धनी हुन्।

प्रतिक्रिया