लगातार शेयर घटेपछि लगानीकर्ता आन्दोलनमा, दशैंपछि अनशन बस्ने चेतावनी


काठमाडौं – शेयरबजार लगातार ओरालो लागेपछि लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका छन् । स्वतन्त्र पुँजीबजार सुधार संघले शेयरबजार लगातार घट्न थालेपछि सरकारले त्यसलाई सम्बोधन गर्नुपर्ने मागसहित धर्ना र प्रदर्शन गर्नुपरेको बताएको हो ।

शेयर बजार निरन्तर रुपमा ओरालो लाग्दा नियामक निकायहरुले सुधारका पहल कदमी नगरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । बजार विकास र सुधारको लागि १८ बुँदे माग पूरा नभएकाले आफुहरु आन्दोलित भएको स्वतन्त्र पुँजीबजार सुधार संघका सल्लाहकार तथा लगानीकर्ता दिपेन्द्र अग्रवालले बताए।

संघले सरकार र नियामक निकायले तत्काल शेयरबजारबारे सम्बोधन नगरे दशैंपछि कडा आन्दोलन गर्ने जनाएको छ । आफ्ना १८ बुँदे माग पूरा नभएको खण्डमा दशैंपछि अझ अझ सशक्त आन्दोलनमा उत्रिँदै अनशन, घेराउलगायतका आन्दोलनका कार्यक्रम अगाडी बढाइने पनि अग्रवालले चेतावनी दिएका छन्।

सरकार र नियमक निकायको लापवाहीको कारण बजार निरन्तर घटेको छ । बजार यसरी छोटो समयमा निरन्तर रुपले घट्दा बजारबाट खर्बौ रुपैयाँ नोक्सानी व्यर्होनु परेको लगानीकर्ताहरुको भनाई छ। बजारबाट खर्बौको नोक्सानी भैसक्दा पनि नियामक निकाय लगानीकर्तालाई सान्त्वना र बजार सुधारको लागि पहल कदमी नचालेको आन्दोलित लगानीकर्ताहरुको आरोप छ।

नियामक निकायहरुलाई अझै झन सशक्त रुपमा झक्झक्याउनका लागि र बजार सुधारका लागि काम गरिरहेको विभिन्न संघसंस्था, बुद्धिजीवी, पत्रकारलगायत आमलगानीकर्ता हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा उनीहरुको जोड छ।

 

 

प्रतिक्रिया