ईपीएल क्रिकेटः पोखराको पहिलो जित, भैरहवा र विराटनगर खेल्दै


काठमाडौं – राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले पहिलो जित हात पारेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो ।

ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

पोखराको जितमा रिचार्ड लेभीले अविजित रहदै ३८ रन बनाए । उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

यस्तै रित गौतमले १२ रन बनाए । साहन अराचिगे १ रनमा अविजित रहे ।

ललितपुरका अज्मातुल्लाह ओमार्जाईले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो ।

वर्षाको कारण आउटफिल्ड भिजेको कारण दुई घण्टा भन्दा ढिला सुरु भएपछि खेल ७ ओभरमा घटाईएको थियो ।

ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए । ओशाडा फर्नान्डोले अविजित १० रन जोडे ।

नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए ।

पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाईले १ रन बनाए । सन्दीप जोरा सुन्य रनमा आउट हुँदा राशिद खान सुन्य रनमा अविजित रहे ।

ललितपुरलाई सस्तैमा समेट्न पोखराका नन्दन यादवले ३ विकेट लिए । बिक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट लिए ।

यस जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ ।

पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो ।

ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स–११ सँग पराजित भएको थियो । अंक विहीन ललितपुर पुछारमा रहेको छ ।

यसपछि आजै भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्सबीच खेल हुँदैछ । भैरहवा यसअघिको खेलमा नतिजाबिहीन हुँदै १ अंक बटुलेको थियो भने विराटनगर पराजित भएको थियो ।

प्रतिक्रिया