भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार


भादगाउँभक्तपुरको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ । भक्तपुर नगरपालिका, सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी पुनःनिर्माणका लागि नगरपालिकाले संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा रानीपोखरी अध्ययन समिति गठन गरेको थियो ।

समितिले रानीपोखरीको ऐतिहासिक पक्ष, पोखरीको मौलिक स्वरूपलगायतका सबै पक्षको अध्ययन गरी प्रतिवेदन तयार गरेको बताइएको छ । सोही समिति र प्रतिवेदनको आधारमा नगरपालिकाले पोखरीको पुनःनिर्माण गरिरहेको छ । समितिले सो प्रतिवेदन बुधबार भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका सम्पदाको ऐतिहासिक दस्ताबेजीकरण गर्ने ढङ्गले सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई तीव्रता दिइरहेको बताए । नेपाली सेनासँग समन्वय र सहकार्य गर्दै भक्तपुरको ऐतिहासिक रानीपोखरी पुनःनिर्माणलगायत सार्वजनिक सम्पत्ति संरक्षणको कार्यलाई अगाडि बढाइएको छ, नगरप्रमुख प्रजापतिले भने, ‘काठमाडौँको रानीपोखरी पुनःनिर्माणमा पनि भक्तपुरले प्राविधिक तथा आवश्यक कालिगड सहयोग गरेको हो ।

नगरप्रमुख प्रजापतिले भक्तपुरको सार्वजनिक सम्पत्तिलाई जनताको साझा सम्पत्तिको रूपमा ग्रहण गर्ने उद्देश्यले नगरपालिका अगाडि बढिरहेको बताए । उनले भक्तपुरको इतिहासलाई जीवित बनाउने कार्यमा पनि जोड दिइरहेको बताए ।    

नगर उपप्रमुख रजनी जोशीले जनप्रतिनिधिको बहालीपश्चात् लामो समयदेखि जीर्ण रहेको भक्तपुरको रानीपोखरीको संरक्षण गरी पुनःनिर्माण कार्यलाई अगाडि बढाइएको बताए । रानीपोखरी पुनःनिर्माणका क्रममा विभिन्न अध्ययन अनुसन्धान भएको र सोबाट नयाँ तथ्य र प्रमाणसमेत प्राप्त भएको बताउँदै उनले रानीपोखरी अध्ययन समिति कार्यदलप्रति धन्यवाद दिए ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौँ उपत्यकाका सम्पदा विस्तारै मासिँदै र हराउँदै गएको समयमा भक्तपुर नगरपालिकाले यहाँका मूर्त अमूर्त सम्पदालाई मौलिक शैलीमा पुनःनिर्माण गर्ने कार्य प्रशंसनीय भएको बताए ।

उनले सम्पदा पुनःनिर्माण र जीर्णोद्धार गर्ने क्रममा त्यसको मौलिक स्वरूप कायम गर्नु महत्वपूर्ण भएको बताउँदै उपत्यकाका पोखरीबारे अध्ययन अनुसन्धान गर्नुपर्ने र पोखरी वरिपरिको सौन्दर्य वातावरणमैत्री हुने ढङ्गले निर्माण गरिनुपर्ने आवश्यकता औँल्याए ।

रानीपोखरी अध्ययन समिति कार्यदलका संयोजक प्रा डा श्रेष्ठले कान्तिपुरको रानीपोखरी निर्माणभन्दा ४० वर्ष अगाडि बनेको भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम न्हु पुखु रहेको जानकारी दिए । रानीपोखरीको ऐतिहासिक महत्वमाथि प्रष्ट पार्दै प्रा डा श्रेष्ठले पाँच महिनाको छोटो समयावधिमा भक्तपुरको रानीपोखरीको निर्माण भएको इतिहास त्यहाँ अवस्थित शिलालेखबाट थाहा हुन आएको बताए ।

भक्तपुर नगरपालिका सम्पदा शाखाका आर्किटेक्ट सरिता धुख्वाले ऐतिहासिक रानीपोखरीबारे थ्रिडी प्रस्तुतीकरण देखाएका थिए । उक्त थ्रिडीको प्रस्तुतीकरण कार्यदलका सदस्य सचिव रामगोविन्द श्रेष्ठले गरेका थिए ।

(रासस)

प्रतिक्रिया