प्रचण्ड थैवको हत्या दोषी मुख्यमन्त्रीको स्वकीय सचिव!

मुख्यमन्त्रीसँग पीडित परिवारको मागः विकलाई स्वकीय सचिवबाट हटाउनु


मुख्यमन्त्री कुल प्रसाद केसी र प्रमुख स्वकिय सचिवमा नियुक्त भएका सुजित विक।

काठमाडौं – बुटवलका प्रचण्ड थैव परिवारले लुम्विनी प्रदेशको मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख स्वकिय सचिवमा आफ्नो छोराको हत्या अभियोगमा जेलजीवन बिताएका सुजित विकलाई नियुक्ति गरेको भन्दै आपत्ती जनाएको छ।

थैबको हत्या अभियोगमा जेल सजाएँ भोगेर आएका विकलाई स्वकीय सचिव नियुक्ति गरेकोमा थैब परिवारले पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको हो। उनीहरुले विकलाई स्वकीय सचिवबाट हटाउन मुख्यमन्त्रीसँग माग गरेका छन्।

स्वर्गीय थैवकी अमा सुकन्या थैवले आफ्नो छोराका हत्यारालाई लुम्विनी मुख्यमन्त्री केसीले राज्यको सेवा सुबिधा दिने गरी नियुक्ती दिँदा परिवारमा पिडा थपिएको बताइन्। आफुहरुलाई मानसिक पिडा थपिएका उनले गुनासो समेत गरिन्।

‘मुख्यमन्त्री केसीले अरू कुनै योग्य ब्यक्ति नभेटेर हत्या अभियोगमा जेल सजाएँ भोगेको व्यक्तिलाई स्वकीय सचिवमा नियुक्त गर्नु आफूहरुलाई मानसिक पीडा दिने काम भएको छ,’ उनले भनिन्।

यस्तै स्वर्गीय थैवकी श्रीमती लक्ष्मी थैवले मुख्यमन्त्री जस्तो जिममेवार व्यक्तिले अपराधमा सम्लग्नलाई आफ्नो प्रमुख स्वकिय सचिव बनाउनु लज्जाको बिषय भएको बताइन्।

‘यो नियुक्तिले प्रदेशको प्रतिष्ठामा आँच आउने काम भयो। थैवको मृत्यु हुँदा आन्दोलन भयो, सुजित जेल गयो। पछि जेलबाट छुटेपछि फेरी यो ठाउँमा आएर स्वकीय सचिव भयो। यसले उ बेला आन्दोलनको नेतृत्व गर्नेलाई समेत चुनौति दिएको छ’, उनले भनिन्।

‘१३ वर्ष भयो घटना भएको, हामीले त्यो घटना बिर्सेर सामान्य जीवनयापन गर्न थालेका थियौँ,’ उनले भनिन्, ‘तर सुजित नियुक्ति भएको खबरले हामीलाई मानसिक तनाव उत्पन्न भयो।’

थैवकी दिदी सुष्मा श्रेष्ठले बुटवलमै अपराध गरेर बुटवलमै राज्यको सम्पतीमा हालीमुहाली गर्नेगरी मुख्यमन्त्रीले नियुक्ती गर्नु पिडित परिवारलाई मात्रै नभएर बुटवलबासीलाई चुनौती भएको बताइन्।

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसियल) रुपन्देहीको अध्यक्ष रहेकै बेला विकले २०६५ सालमा एमाले कार्यकर्ता प्रचण्ड थैवको हत्या गरेका थिए। हत्या अभियोग लागेपछि जेल परेका उनी गत वर्ष रिहा भएका थिए।

तनहुँको खैरेनीटारका स्थायी बासिन्दा खड्क बहादुर विकका छोरा खरेन्द्र विक सशस्त्र द्धन्द्धको समयमा सुजित बिकको नामले परिचित थिए। उनकी श्रीमती दीपा विक माओवादीबाट लुम्बिनी प्रदेशसभा सदस्य छिन्।

प्रतिक्रिया