आईसीसी विश्वकप क्रिकेट लिग–२: नेपाल र अमेरिका आज भिड्दै


काठमाडौं — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आज सोमबारबाट सुरु हुँदैछ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले आज अमेरिकाविरुद्ध खेल्दै सिरिजको सुरुवात गर्नेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

लिग–२ अन्तर्गत नै नेपालले यस अघि घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। नेपालले दुबै खेल जितेको थियो। जसको कारण नेपाल आत्मविश्वासी भएर मैदान उत्रनेछ । अमेरिका भने नेपालविरुद्ध बदलाको योजनामा हुनेछ ।

सन् २०२० को फेब्रुअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो।

त्यसअघि फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो।

नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो। जसमा नेपालले २–० ले क्लिन स्विप गर्यो। अमेरिकाले समेत पीएनजीविरुद्धको दुबै खेल जितेको थियो ।

त्यस्तै नेपालले दोस्रो खेलमा ओमानसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।

नेपालले तेस्रो खेलमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दा आफ्नो अन्तिम खेलमा नेपालले ओमानसँग आइतबार खेल्नेछ।

प्रतिक्रिया