‘कोल्याप्स’ हुन लागेको मणिपाल मेडिकल कलेजलाई बतास र अटोवेजले दिएको त्राण


काठमाडौं– नीजि क्षेत्रकै प्रथम मेडिकल कलेज मणिपाललाई बतास र अटोवेज समूहले त्राण दिएको छ। डुबिसकेको भारतीय लगानीकर्ताबाट उक्त समूहले पोखरास्थित मणिपाल मेडिकल कलेज खरिद गरेपछि गण्डकी प्रदेशभित्र डाक्टर बन्न चाहनेको सपनामा टेको लागेको छ।

कर्मचारी आन्दोलन, आर्थिक भारका कारण मणिपाल डुब्ने अवस्थामा पुग्न लागेको थियो। प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को माध्यमबाट मणिपाल खुलेको थियो।

मेडिकल कलेजलाई राज्यले सुविधा उपलब्ध गराए पनि धान्न सक्ने अवस्थामा नपुगेपछि विक्रिको प्रयत्न गरिरहेको भारतीय लगानीकर्ताले बतास र अटोवेज भेटेका हुन्।

कर्मचारी–व्यवस्थापनबीच हरेक वर्ष हुने तनावदेखि श्रम ऐन कार्यान्वयन लगायतका मुद्दाका कारण अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न नसक्दा एक दशकदेखि मणिपालको साख गिर्न थालेको थियो।

अनेक समस्याबीच ठूलो जोखिम मोलेर सामाजिक उद्यमी आनन्दराज बतास र नारायण पौडेलले उक्त मेडिकल कलेज खरिद गरेका छन्।

मणिपालको स्वामित्व स्वदेशी लगानीकर्तामा आएको छ। सरकारसँग ५० बर्षको सम्झौता भएका कारण भारतीय लगानीकर्ता फर्किन नपाउने तर्क गरिए पनि त्यो डुब्ने खतरा हुँदा बेच्न पाउने विश्वभरको नियम नै रहेको छ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा २० मा लगानी तथा आर्जित रकम फिर्ता लैजान पाउनेसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ।

कोरोना कहर बढ्दै जाँदा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि आफैं ठूलो पुँजी राखेर रकम जुटाएका बतास र पौडेलका लागि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने तिर्खा थियो। यस्तो अवसरको सदुपयोग गर्न बतास र पौडेल चुकेनन् र फलतः मणिपाल मेडिकल कलेज खरिद गर्न सफल भए। डुब्न लागेको मणिपाललाई उनीहरुले त्राण मात्र दिएनन्, नेपाली लगानीको ग्यारेन्टि पनि गरे।

प्रतिक्रिया