

जनगायक ‘टुहुरे’को अवस्था चिन्ताजनक

काठमाडौं – जनगायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्मको पक्षमा चेतनामूलक गीत गाएका उनी अचानक बिरामी परेका हुन् । अचानक ‘स्ट्रोक’ भएपछि उनलाई मंगलबार बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो ।
मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई शल्यक्रिया गर्न जोखिमपूर्ण रहेकाले औषधीको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्यूरोलोजिस्ट डा. सामर्थ सिंहले बताएका छन् । टुहुरेको उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको उनको भनाइ छ ।
टुहुरेको उपचारमा डा. सामर्थ सिंह, डा. विश्वकुमार श्रेष्ठ, डा. पावनवहादुर भण्डारी, डा. प्रकाश श्रेष्ठको चिकित्सक टोली संलग्न छन् । उनको अवस्था चिन्ताजनक तर, स्थिर रहेको चिकित्किसहरुको टोलीले जानकारी दिएको छ ।
उनको स्वास्थ्य अवस्था बुझ्न गत बिहीबार पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल अस्पताल पुगेका थिए । टुहुरेको उपचारको सम्पूर्ण खर्च ब्यहोर्न सरकारलाई आग्रह गर्ने उनले बताएका थिए । उनलाई भेट्न एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री जनार्दन शर्मा, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठलगायत अस्पताल पुगेका छन् । नेताहरूले सहयोग गर्ने आश्वासन दिए पनि उपचारका लागि आर्थिक अभाव भएको पारिवारिक स्रोतले बताएको छ ।
टुहुरेले १ सय ५० भन्दा बढी जनवादी गीत रेकर्ड गराएका छन् । सुनसरीको धरानमा जन्मिएका टुहुरे दोस्रो संविधानसभामा तत्कालीन एकिकृत नेकपा माओवादीबाट समानुपातिक सभासदसमेत बनेका थिए । २०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसन स्थापना गरिएको छ । फाउण्डेसनको अध्यक्ष उनकी छोरी निर्भीका टुहुरे छिन् ।

