

अब एमाले कार्यकर्तालाई बालकृष्ण ढुंगेलको ‘स्कुलिङ’

काठमाडौं– उज्जनकुमार श्रेष्ठ हत्या प्रकरणमा सबैभन्दा बढी बालकृष्ण ढुंगेलको आलोचना गर्ने नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले हालै विभागहरु गठन गरेका छन्।
नौ वटा विभाग गठन गर्दा जनताको बहुदलीय जनवादलाई डटेर राखेका महासचिव ईश्वर पोखरेललाई जिम्मेवारीविहीन बनाउँदा ओखलढुंगाको प्रतिनिधित्व भने पूर्वमाओवादी नेता तथा विवादीत बालकृष्ण ढुंगेललाई ओलीले स्कुल विभागमा राखेका छन्।
कम्युनिस्ट पार्टीमा स्कुल विभाग पार्टीको सैद्धान्तिक राजनीतिक प्रशिक्षण दिने महत्वपूर्ण मानिन्छ। नेकपा रहँदा यो विभागको नेतृत्व कसले गर्ने भन्ने ठूलो मन्थनपछि भने पोखरेललाई दिइएको थियो।
अहिले आफैं प्रमुख रहेको उक्त विभागमा ढुंगेललाई ओलीले किन राखे? भन्ने विषयमा एमालेबीच चर्चा सुरु भएको छ।
नेकपालाई अदालतले अवैध ठहर गरी एमाले र माओवादी ब्युँताएपछि ढुंगेल ओली खेमामा मिसिएका थिए। पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतसँगै ढुंगेल पनि एमालेमा लागेका थिए।
श्रेष्ठ हत्या प्रकरणमा पक्राउ परी डिल्लीबजार कारागारमा ढुंगेल बसेका थिए। ढुंगेलको व्यक्तिगत जीवन सादा र सहज भए पनि सार्वजनिक र राजनीतिक जीवन भने विवादको घेरामा रहेको थियो।
उनले ओखलढुंगामा सार्वजनिक मञ्चबाट न्यायाधीशरुको पिँडुला ताछ्नेसम्मका अभिव्यक्ति दिएका थिए।
‘ढुंगेलको राजनीतिक जीवनको परिघटनालाई ल्याएर विभागमा सदस्य भएको विषयमा जोड्नु अर्थहिन हुन्छ’, एक नेता भन्छन्,‘त्यसरी सोध्ने हो भने त प्रचण्डलाई किन प्रधानमन्त्री स्वीकार गरेको? के तिनले १७ औं हजार मानिस मारेका होइनन्? ५ हजारको त जिम्मा नै लिए त।’
ढुंगेलको जीवन माओवादी आन्दोलनको एउटा पाटो र शान्ति सम्झौता तथा सत्यनिरुपणको कामसँग राजनीतिक रुपमा जोडिने दाबी गरेका ओलीनिकट नेताहरु भन्छन्,‘स्कुल विभागमा धेरै जना हुनुहुन्छ। पार्टीको आधिकारिक लाइनका विषयमा उहाँहरुले प्रशिक्षण दिनुहुनेछ।’
नेपाली राजनीतिमा दल फेरबदलले विचारमा परिवर्तन ल्याउने भएकाले राजनीतिक व्यक्तित्वको विषयमा अनुमानित धारणा बनाउन नहुने कतिपयको भनाई छ। तर, ढुंगेलको जीवन र विवाद सतहमा नै चर्चा भएका कारण उनलाई स्कुल विभागमा राख्नुबारे चासोचाहिँ बढेको छ।

