माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक स्थगित


काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आजका लागि आह्वान गरेको आफूनिकट केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ।

आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बस्ने तय भएको केन्द्रीय कमिटी बैठक भोलीसम्मका लागि स्थगित भएको नेपाल निकट नेता बेदुराम भूषालले जानकारी दिए।

बैठकका लागी आवश्यक तयारी नपुगेको र केही नेताहरु काठमाडौं बाहिर रहेकाले बैठक भोलि (बिहिबार) का लागि सारिएको भूषालको भनाइ छ। पार्टीभित्रको विवाद समाधानको लागि निर्णायक मोडमा पुगेपछि नेता नेपालले आगामी रणनीति तय गर्नका लागि बैठक बोलाएको बुझिएको छ।

बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ। एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राखेका छन्।

एकता हुन नसके सरकारमा सहभागी हुने नेपाल पक्षको तयारी छ। नेता नेपालले निर्णय दिन नसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन्।

 

प्रतिक्रिया