डेढ दशकको संघर्षनजिक एनआरएनए अस्ट्रेलियामा रोजीको अजेय हर्ष


सिड्नी– भनिन्छ– हरेक पुरुषको सफलताको पछाडि महिलाको हात हुन्छ। यसको व्याख्याका आयाम अनेक छन्। तर एउटी महिलाको सफलताका लागि यो उद्दरण बनेन किन होला?

यसको उदाहरणकी पात्र हुन्, रोजी पन्त। शनिबार मात्र उनले गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको स्टेट कोओर्डिनेशन कमिटी (एससीसी) सदस्यमा भारी मत ल्याएर जित निकालिन्। उनी नवनिर्वाचित अध्यक्ष नन्दु गुरुङको प्यानलमा थिइन्।

रोजीको यो अजेय यात्राका विविध चरण छन्। जीवनको पर्दापछाडि संघर्ष र मिहेनतका अथाह कथा छन्। समुदायमा आफूलाई अब्बल यात्रामा दौडाउने लगनका थाक पनि छन्।

सामाजिक संघ संस्था र समुदाय हुँदै जिम्मेवार तहमा पुग्नका लागि पारिवारिक पृष्ठभूमीमा समर्थनको बेग अनिवार्य हुन्छ। तर, रोजीका जीवनमा बेग नभए भनी साथीभाईको समर्थनको ‘लहर’ थियो।

उनी एकल आमा हुन्। सन्तानको भविष्यको काँचुली कस्तो रङ्गको बनाउने, समुदायको हितमा कसरी अघि बढ्ने र संगठनको जिम्मेवारीलाई कुन गहिराईमा पूरा गर्ने भन्ने उत्तरदायी महिला भएकै कारण उनी अजेय यात्रामा छिन्।

‘यहाँ श्रम, सहयोग, समर्पण, जिम्मेवारी र समयको तालमेललाई मिलाउन कठिन हुन्छ। तर, मेरो अभ्यासलाई विश्वास गरिदिने सबै सहयोगी मनप्रति आभारी छु’, उनी भन्छिन्।

उनको यो विजयी यात्रालाई नजिकका साथी र सहयोगीले अझ प्रभावशाली बनोस् भन्ने हेतुले बधाईको अविर र बुके अर्पण गरेका छन्। त्यसलाई स्वीकार गरेकी पन्त भन्छिन्,‘यी खुसीहरु हुन् आजका। अब सांगठनिक रुपमा पदमा बसेर पूरा गर्नुपर्ने जिम्मेवारी र चुनौति अगाडि छन्। जसलाई दत्तचित्तले पूरा गर्ने प्रण गरेकी छु।’

रोजीले एनआरएनए अस्ट्रेलियाको यो निर्वाचनमा एउटा नयाँ आयाम पनि स्थापित गरेकी छन्। उनी न्युक्यास्टल समुदाय क्षेत्रबाट पहिलो र विजेता उम्मेदवार पनि बनिन्। यसको अर्थ समुदायले उनलाई विश्वाससहितको प्रेम गर्छ।

१३ बर्षदेखि अस्ट्रेलियामा संघर्ष गरिरहेकी उनको क्लिनिङ सम्बन्धी काम गर्ने कम्पनी १० बर्षदेखि सक्रिय छ। अर्बिट अस्ट्रेलिया ग्रुपकी सञ्चालक हुन्।

नेपाली विद्यार्थीका लागि रोजगारी र समस्यामा साथ दिने सहयोगी पात्र रोजी भन्छिन्,‘हामी नेपाली समुदायका लागि केही गर्न उभिएका हौं। संघर्षले मैदान चिनायो, मैदानमा हामी हिँड्यौं, बामे सर्नेलाई हात दिनु कर्तव्य बन्नुपर्छ, त्यति नै गरिरहेकी छु। अब दौडाउने प्रयास गर्नेछु।’

न्युक्यास्टल क्षेत्रबाट समुदायमै पहिलो महिला उम्मेदवार र त्यसमा जित निकाल्न सक्नु साधारण काम नभएको अस्ट्रेलियावासी नेपाली फिल्म निर्माता भानु प्रताप बताउँछन्। उनी भन्छन्,‘अहिले बधाई दिएका छौं, कामको सफलता हुँदै जाँदा शुभकामनाका अनेक शव्दगुच्छा दिँदै जानेछौं। यो हामीलाई विश्वास छ।’

प्रतिक्रिया