

बलात्कार घटना गाउँमै मिलापत्र गराउने वडासदस्यसहित ९ जना पक्राउ, पीडितलाई ३५ सय छुट्याउँदा घटना बाहिरियो

रुकुम (पूर्व) – बलात्कारको घटना गाउँमै मिलापत्र गरेको आरोपमा रोल्पामा वडासदस्यसहित सात जना पक्राउ परेका छन्। जेठाजुबाट बुहारी बलात्कार भएको घटनालाई गाउँमै मिलापत्र गरेको आरोपमा प्रहरीले लुङ्ग्री गाउँपालिका–४ का वडा सदस्य हिमबहादुर विष्टसहित अन्य ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
गएको साउन २ गते भएको घटनालाई पीडितका ससुराले वडा सदस्यलाई खबर गरेपछि वडा सदस्यले साउन ३ गते गाउँमा कटुवालमार्फत स्थानीय भद्र भलाद्मी बोलाएर २० हजारमा मिलापत्र गराएका थिए। जसमध्ये गाउँको कोषमा १५ हजार र पीडितलाई ५ हजार छुट्याउने भेलाले निर्णय गरेको थियो।
पीडितलाई छुट्याइएको ५ हजार रुपैयाँबाट पनि १ हजार भलाद्मीलाई चिया खर्च र ५ सय ससुरालाई मान राख्ने भनेपछि पीडितले असन्तुष्टि जनाउँदै साउन ४ गते प्रहरीमा जाहेरी दिएपछि घटना बाहिर आएको हो।
पीडितको उजुरीको आधारमा बलात्कारको आरोपीसहित मिलापत्र गराउने स्थानीय दुर्गे विष्ट, नवीन विष्ट, पुस्त विष्ट, पुस्ते खड्का र पीडितका ससुरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डीएसपी नरेशराज सुवेदीले जानकारी दिए।
पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय सुलिचौरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बलात्कार आरोपितलाई कसुरबमोजिम र अन्यलाई घटनाको मतियारको कसुरबमोजिम कानुनी कारबाही हुने डिएसपी सुवेदीले बताए। पीडित महिलाले साउन ४ गते प्रहरीसमक्ष जाहेरी दिएकी थिइन्।

