

कांग्रेस उपसभापतिसँग नाम जोडिने कक्षपति जेलबाटै चलाउँछन् धम्की धन्दा

काठमाडौं– ठगीको अपराधमा सजाय पाएपछि चारखाल जेलमा रहेका सहदेव कक्षपतिले जेल प्रशासनसँगको मिलोमतोमा धम्कीको धन्दा सुरु गरेका छन्।
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारसँग नाम जोडिने कक्षपतिले जेलबाटै विभिन्न व्यापारीहरुलाई धम्की दिने गरेको खुलेको हो।
उद्योगी व्यापारीलाई शक्ति केन्द्रका आडमा ठगी गरेपछि उनलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो। करोडौं रकमको बैंकिङ कसुरका मुद्दा पनि कक्षपतिलाई लागेको छ।
स्रोतका अनुसार जेल प्रशासन र त्यहाँभित्र रहेका व्यक्तिसँगको मिलोमतोमा विभिन्न व्यापारी व्यावसायीलाई ठेक्कालगायतका कामको बार्गेनिङ, कमिशनलगायत माग गर्दै आएका कक्षपतिले शक्ति केन्द्रको धक्कु समेत लगाउने गरेका छन्।
उनलाई भूमाफियाका रुपमा पनि चिन्ने गरिएको छ। ठगी काण्डमा फरार रहेका कक्षपतिलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरी जेल पठाएको थियो।
कक्षपतिले हाईप्रोफाइल व्यक्तिहरुको नाम जोडी ठगी कार्य गर्दै आएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।
कक्षपतिको समूहले प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराको नाममा समेत ठगी गर्दै आएको अनुसन्धानका क्रममा खुलेको थियो। बैँकबाट सर्वसाधारणको जग्गा धितो राखी पैसा निकाल्ने काम कक्षपतिको धन्दा थियो।
पछिल्लो पटक भने उनी बैंकिङ कसुरमा अदालतबाट सजाय तोकिएपछि फरार रहेका थिए। होटल एभरेस्ट इन्टरनेशन लिमिटेडका प्रवन्ध निर्देशक सारिक लारी र सहदेव कक्षपतीलाई प्रतिवादी बनाएर दायर भएको मुद्दामा काठमाडौं जिल्ला अदालतले कक्षपतीलाई २ करोड रुपैयाँ बिगो भराउने फैसला सुनाएको थियो।
काठमाडौं महानगरपालिका–३४ बस्ने राजेन्द्र प्रसाद गोयलले दायर गरेको मुद्दामा कक्षपतीविरुद्ध २ करोड बिगो असुलसहित ३ हजार रुपैयाँ जरिवाना र ३ महिना कैदको आदेश थियो।
गत १ मंसिरमा अदालतले फैसला सुनाएपछि फरार रहेका कक्षपतीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो।
स्रोतले भन्यो,‘अहिले पनि कारागार प्रशासनका व्यक्तिसँगको मिलोमतोमा उनको धम्की दिने र कमिशनमा बार्गेनिङको काम चलिरहेको छ।’ यसअघि उनी गच्छादारको सालो भएको भन्दै व्यापारी र व्यावसायीसँग सम्बन्ध बनाउने गर्दथे।

