दाङमा एउटा डाक्टरलाई देखाएर अर्को डाक्टरले बिरामी जाँचेको भन्दै प्रहरीमा जाहेरी!


काठमाडौं – दाङमा एक जना बिरामीले एउटा डाक्टरलाई देखाएर अर्को डाक्टरले बिरामी जाँचको भन्दै एक नीजि अस्पतालका डाक्टरविरुद्व जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका छन्।

गत १४ असारमा घोराही–१६ सर्रा निवासी अधिवक्ता नारायणप्रसाद डाँगीले आफ्नो श्रीमती बिरामी भएपछि अपरेशनका लागि घोराही–१५ स्थित बुद्ध हस्पिटलमा उपचारका लागि लिएर गएका थिए।

बुद्ध हस्पिटलका चिकित्सक सर्जन डा. रमेश बस्नेतलाई देखाउन पुगेका बिरामीलाई बस्नेतले चेक नगरेर उनीसँगै काम गर्ने अर्का चिकित्सक डा. माधव गोहितले चेक गरेका थिए। बिरामीको पुरै डाइग्नोसिस नै डा. गोहितले सर्जन बस्नेतको पर्चामा गरेका थिए।

डा. बस्नेतलाई देखाउने भन्दै बिरामी अस्पताल पुगेपछि सोही डाक्टरको नाममा पर्चा पनि काटियो। एउटा डाक्टरको नाममा अर्को डाक्टरले बिरामीलाई जाँचेपछि यो बिषयले स्वास्थ्य क्षेत्रमा हंगामा भएको छ।

एउटा डाक्टरलाई देखाएर अर्को डाक्टरले बिरामी जाँचेर ठग्ने नियत राखेकाले देखिएको भन्दै पीडित पक्ष आफ्नो लेटरप्याड दिने सर्जन डा. रमेश र डा. गोहितसहित अस्पताल प्रशासनका काम गर्ने कर्मचारी गरेर ५ जनाविरुद्ध प्रहरी कार्यालयमा जाहेरीसहित पुगेका हुन्।

अस्पताल प्रशासनका कर्मचारी र चिकित्सक मिलेर पहिलेदेखि नै एउटाको नाममा अर्को चिकित्सकले जाँचेर बिरामीलाई व्यक्ति ब्ल्याकमेलिङ गरेको आरोप लगाउँदै पीडित पक्ष मुद्दा दायर गर्न प्रहरीमा पुगेको अधिवक्ता मौसम आचार्यले बताए।

यता, जिल्ला प्रहरी कार्यालय दाङले यो घटनाको बारेमा जाहेरी आएको र अनुसन्धान भइरहेको जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भन्दै अनुसन्धान गरेर मुद्दा दर्ता हुने जानकारी दिए।

एसपी काफ्लेले यो बिषय प्रहरीको क्षेत्राधिकार भित्र पर्ने कि नपर्ने बिषयमा स्पष्ट भएर मात्र मुद्दा चल्ने र नचल्ने थाहा हुने बताए। उनले मेडिकल काउन्सिल पनि रहेकाले यो बारेमा अनुसन्धान गर्नुपर्ने भए त्यो मुद्दा प्रहरीले काउन्सिलमा पठाइदिन सक्नेपनि बताए।

बुद्ध अस्पतालका सिईओ बालाराम अधिकारीले अस्पतालका सर्जन रमेश बस्नेतको पर्चा र लेटरप्याडमा उनीसँगै बसेका डा. माधव गोहितले बिरामी चेक गरेर रोगको डाइग्नोसिस गरेकाले बिरामीले एउटा डाक्टरलाई देखाएर अर्को डाक्टरले किन चेक गर्न दिएको भनेर जाहेरीसहित पुगेपछि प्रहरी कार्यालयमा पीडित र अस्पताल प्रशासनबीच दुई दिनदेखि लगातार छलफल चलिरहेको र कुरा नमिलेको बताए।

कानुनीरुपमा अस्पतालले कमजोरी गरेपनि व्यवहारिक रुपमा मिलाउनुपर्ने भन्दै सिईओ अधिकारीले कतिपय बिरामीको सबै चेक गराएर अन्तिममा विशेषज्ञ चिकित्सक कहाँ जाने गरेको पनि सुनाए।

प्रतिक्रिया