विवादका कारण हुलाकी सडक निर्माण प्रभावित


लहान – पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन बजार क्षेत्रमा जग्गा विवादका कारण निर्माणकार्य प्रभावित भएको छ ।

बोदे बर्साइन बजारको शत्रुघन चोकदेखि पूर्व र इलाका प्रहरी कार्यालयको पश्चिम भागमा कालोपत्र काम सम्पन्न भइसके पनि जग्गा अधिग्रहणको विवादका कारण इलाका प्रहरी कार्यालय पूर्व र शत्रुघन चौकदेखि पश्चिमबीचको करिब ३०० मिटर सडक निर्माण अवरुद्ध भएको हो ।

बोदे बर्साइन नगरपालिका–५ बजारको उक्त सडकमा कब्रिस्तानको पर्खाल परेपछि सो पर्खाल भत्काउन नमानेका कारण निर्माण काम अवरुद्ध भएको जनाइएको छ । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले चासो नदेखाउँदा समस्या समाधान हुन नसकेको स्थानीयवासीको भनाइ छ । कब्रिस्तानको करिब डेढ मिटर पर्खाल सडकको मापदण्डमा पर्ने भएकाले पर्खाल भत्काउन नमान्दा त्यस खण्डमा निर्माण काम शुरु नभएको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका प्रतिनिधि कमलप्रसाद यादवले जानकारी दिए ।

जग्गासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको भन्दै उनले जग्गा अधिग्रहण गर्न नगरपालिका र वडा कार्यालयले पहल नगरेका कारण समस्या यथावत रहेको बताए । जग्गा अधिग्रहण भई निर्माणको वातावरण बनेमा निर्माणकार्य सकिएर जाने उनको कथन छ । सो सम्बन्धमा नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवले जग्गा प्राप्तिका लागि पटकपटक पहल गरे पनि कब्रिस्तानका मानिसले नमानेको बताए । उक्त जग्गासम्बन्धी अदालतमा मुद्दा चलेकाले अदालतले दिने फैसलाअनुसार कार्य अगाडि बढ्ने उनको कथन छ । रौता श्रेष्ठ डिवा जेभी रातोपुलले २०७७ असार २९ गते स्तरोन्नतिको काम पूरा गर्ने गरी २०७४ पुस १४ गते सम्झौता गरेको थियो । सो मितिमा निर्माण सम्पन्न हुन नसकेपछि छ महिना म्याद थप गरिएको छ । थपिएको म्याद २०७७ पुस २८ गते सकिएको छ ।

पूर्व राजविराजदेखि पश्चिम बलानसम्मको सप्तरी खण्डमा करिब १८ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका प्रतिनिधि यादवले जानकारी दिए । उनका अनुसार बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको छ । करिब २५ किलोमिटरको सो खण्डमा अहिले ११ वटा पुलको निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।

प्रतिक्रिया