

ड्युटीमा रहेका नेपाली सेनाका जवानले आफैंलाई हाने गोली

काठमाडौं – वीरगञ्जमा नेपाली सेनाको चण्डीप्रसाद गणका एक सिपाहीले आफैंमाथि गोली हानेका छन्। गोली लागेका उनको अवस्था अहिले गम्भीर छ।
देशको रक्षार्थ नेपाली सेनामा जागिरे वीरगञ्जस्थित नेपाली सेनाको चण्डी प्रसाद गणमा कार्यरत सिपाही पर्सा पोखरिया–७ का श्यामबाबुप्रसाद चौहानले गएराति ८ बजे आफैंमाथि गोली हानेका हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साले चौहानको आँखा नजिकैबाट गोली निस्किएको जनाएको छ। उनले आफ्नो राइफलमा गोली हालेर ड्युटीमा बसेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनले आफूले आफैंलाई गोली हानेको देखाएको छ। घटनालगत्तै नेशनल मेडिकल वीरगञ्ज पुर्याइएका उनको अवस्था गम्भीर रहेको बताइएको छ।
उनले किन आफैंलाई गोली हाने भन्नेबारे खुलेको छैन। गोली किन हानेको भन्ने विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले आत्महत्याको प्रयास गरेका हुन्।

