

ज्वाला संग्रौलालाई कारबाही गर्ने हिम्मत छ आईजी सा’प?
कसैको धम्कीले डराउने संगठन हो प्रहरी?

काठमाडौं – नेपाल प्रहरीमा आफू अनुकुलको मान्छेलाई इन्चार्ज पठाउनको लागि कोहीबेला राम्रो काम गर्दागर्दै परिवर्तन गर्ने कुरा नौलो होइन। तर, राम्रो काम गर्दागर्दै इन्चार्ज नै नभएको व्यक्तिको सरुवा हुनु चाहिँ नौलो हो।
बुधबार साँझ त्यस्तै भयो, महानगरीय ट्राफिक प्रहरी प्रभाग महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाको अचानक सरुवा भयो। महाराजगञ्जमा कार्यरत उनलाई त्यहाँको जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरीय ट्राफिक प्रहरी महाशाखा, बग्गीखाना तानिएको थियो।
जतिबेला झाको सरुवा हुनुको कारण प्रहरी संगठनले नखुलाएपनि रहस्य अर्कै थियो– त्यो हो कसैको दबाब। झाको सरुवा कसैको दबाबमा भएको भन्दै समाचारहरु मिडियामा आएपछि प्रहरी संगठन प्रमुखदेखि ट्राफिक प्रमुखसम्मको चौतर्फी आलोचना भएको थियो।
चौतर्फी आलोचना खेप्न नसकेपछि सरुवा गरिएका असई झा पुनः महाराजगञ्ज फिर्ता भएका छन्। महाशाखा प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले असई झालाई फेरि महाराजगञ्ज फिर्ता हुनेगरी रमाना बुझ्न लगाएको प्रहरी स्रोतले पुष्टि गरेको छ।
यसअघि एसएसपी भट्टराईले नै झालाई बोलाएर अब बग्गीखानामै काज सरुवा हुन आग्रह गरेका थिए। काज फिर्ता भएपछि झा बुधबार नै महाराजगञ्जमा हाजिर भएका छन्। जबकी झा प्रभागको इन्चार्ज समेत होइनन्। राम्रो गर्दागर्दै कसैको दबाबमा झाको सरुवा भएको थियो।
जबकी महाराजगञ्जका कार्यालय प्रमुखले रुचाएका प्रहरी हुन् असई झा। असई झाको कार्यसम्पादन समेत राम्रो छ। ‘कसैको दबाबमा असई झाको सरुवा भएकोमा दुईमत छैन,’ झाको सरुवालाई लिएर सामाजिक सञ्जालदेखि मिडियासम्म यही प्रश्न उब्जेको थियो।
केही समयअघि असई झालाई ‘कसैले धम्कीपूर्ण’ भाषा प्रयोग गरेर सरुवा गरिदिने चेतावनी दिइएको थियो। धम्की दिएको दुई साता नबित्दै झाको महाराजगञ्जबाट महाशाखामा सरुवा भएपछि अनेकन टिकाटिप्पणी हुनु स्वभाविक पनि हो।
माथिबाट ‘कसैको धाकधम्कीले नडराई निश्चिन्त भएर काम गर्न’ निर्देशन दिने प्रहरी संगठनको चर्को आलोचना भइरहेको छ। आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलाको टोलीले गत ११ जेठमा असई झामाथि नश्लीय टिप्पणी गर्दै ‘एनि हाउ’ सरुवा गराइदिने चेतावनी दिएकी थिइन्।
महारजगञ्जमा निषेधाज्ञाका बेला पास र लाइसेन्स माग्दा आफूलाई सामाजिक अभियान्ता बताउने संग्रौलाको टोलीले असई झा ‘जातैले मधेशतिरको लाग्छ, उतै सरूवा गरिदिन्छौं’ भनेर टिप्पणी गरेका थिए। ड्युटीमा खटिएका प्रहरीलाई जानीजानी त्यसरी दुव्यर्वहार गर्न पाइँदैन।
यसरी असई झामाथि नश्लीय टिप्पणी गर्ने संग्रौलाको टोलीलाई कारबाही हुनुपर्नेमा उल्टो भयो। जो कोहीमाथि नश्लीय टिप्पणी गर्नु अपराध हो। मधेश आयोगका अध्यक्ष विजय दत्तले ट्राफिक प्रहरी असई झामाथि नश्लीय टिप्पणी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी प्रमुखलाई आग्रह गरेको बताए।
अध्यक्ष दत्तले ट्राफिक प्रहरी झामाथि भएको टिप्पणीको उजुरी समेत आयोगमा दर्ता भएको जानकारी दिए। उजुरी दर्ता भएसँगै कारबाहीका लागि प्रक्रिया अगाडि बढिसकेको अध्यक्ष दत्तको भनाइ छ। ‘आयोगमा उजुरी दर्ता भइसकेको छ, कारबाहीका लागि प्रक्रिया पनि अगाडि बढेको छ,’ उनले भने।
‘सामाजिक अभियन्ता भन्दैमा उहाँहरुलाई एक्स्क्युज दिन हुँदैन। कसैले कुनै ड्युटी अफिसरलाई ‘तँ मधेसी होस्, मधेसतिरै गएर खेती गर’ भन्नु नै सबैभन्दा ठूलो गल्ती भएको अध्यक्ष दत्त बताउँछन्। त्यस्ता मान्छेहरु सामाजिक अभियन्ता हो भने सार्वजनिक माफी माग्नुपर्ने दत्तले बताए।
असई झाले गल्ती गरेको भए पनि उसलाई कारबाही गर्ने ठाउँ हुँदाहुँदै नश्लीय टिप्पणी प्रयोग गर्नु गम्भीर अपराध भएको भन्दै यस्तो व्यवहार गर्नेलाई कारबाही गर्न माग गरिएको छ। नेपाल प्रहरीको आधिकारीक ट्विटर ह्याण्डललाई मेन्सन गर्दै छानबिन गरेर कारबाही माग गरिएको छ।
कानुन उल्लघंन गर्नेलाई कारबाहीको दायरामा ल्याउन सडकमा खटिएका प्रहरीमाथि, त्यो पनि कार्यालयभित्रै बर्दीमा रहेका प्रहरीमाथि रंगभेदी व्यवहार भएको भिडियो भाइरल हुँदा संगठनबाट केही प्रतिक्रिया समेत नआएपछि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको चर्को आलोचना भएको छ।
असई झालाई मात्र नभएर कानुनको बर्खिलाप हुने गरी सिंगो प्रहरी संगठनमाथि नश्लीय टिप्पणी प्रयोग गर्ने संग्रौलाको टोलीमाथि कारबाही गर्ने हिम्मत छ आईजीपी क्षेत्रीसँग? पछिल्लो समय नेपाल प्रहरीका कर्मचारीहरु सांसददेखि सामाजिक अभियान्ता भन्नेहरुको दादागिरीले आजित भएका छन्।
के निषेधाज्ञाको समयमा असई झाले माथिको आदेश कार्यान्वयन गर्नु गल्ती थियो? उनीहरुलाई निषेधाज्ञाको समयमा रोकेर पास खोई भन्नु अपराध हो? बिना कागजपत्र गाडी चलाएर राहत बाँड्न हिँडेको हो भन्दै धम्की दिनेलाई रोक्न पाइन्न?
संग्रौलाको चेतावनी अनि साँच्चिकै असई झाको सरुवा अचानक भएपछि कसैको धम्कीले डराउने संगठन हो नेपाल प्रहरी? संगठन प्रमुख आईजीपी क्षेत्रीलाई प्रश्न छ।
‘कसैको धम्की’मा डराउने संस्था होइन नेपाल प्रहरी,’ एकजना पूर्व प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) भन्छन्, ‘यसरी कसैले जसरी हुन्छ सरुवा गराएरै छाड्छु भनेर धम्की दिएको केही दिनमै असई झाको सरुवा हुनुले प्रहरीको मनोबल कमजोर हुन्छ।’
प्रहरी संगठन ‘चेन अफ कमाण्ड’मा चल्ने संगठन हो। ‘चेन अफ कमाण्ड’ को संगठनका सदस्यले राम्रो गर्दागर्दै उपहारस्वरुप सरुवा दिनु संगठनकै बेइज्जत हो। यस विषयमा संगठन प्रमुख आईजीको ध्यान जान जरुरी छ।
के थियो घटना?
गत ११ जेठमा ड्युटीमा खटिएका झासहितको ट्राफिक प्रहरीको टोलीले निषेधाज्ञाको बेला सवारी पासबेगर सवारी साधन लिएर हिँडेका उनीहरुलाई रोकेको थियो। पास र चालक अनुमतिपत्र दुवै उनीहरुसँग नरहेको भेटिएपछि झाले उनीहरुको सवारी होल्ड गरेका थिए।
सामान्य विवाद भएपछि उनीहरुले असई झाले आफूहरुमाथि दुव्र्यवहार गरेको आरोप लगाएका थिए। त्यसपछि प्रभागको कार्यालयम पुगेका संग्रौलासहितको टोलीले असई झामाथि तथानाम भन्दै आफै मिडिया बोलाएर भिडियो खिच्न लगाएका थिए।
उक्त भिडियो पहिला नै मिडियामा सार्वजनिक भएपनि केही दिनअघि मात्र उक्त भिडियो भाइरल भएको हो। भिडियोमा देखिएअनुसार प्रहरी कार्यालयमा संग्रौलाको टोलीले असईको नाम सोधेपछि उनले आफ्नो नाम मणिकान्त झा भएको बताएका छन्।
त्यसपछि संग्रौलासहितको टोलीले ‘झा… मधेशी… अब मधेशतिरै गएर खेतीकिसानी गर्नु। ट्राफिकको जागिर खाएर काम छैन…’जस्ता नश्लीय शब्दसहित दुव्र्यवहार गरेका थिए। आफू मातहतको प्रहरीबाट गल्ती भएको भए सच्याउन तयार भएको र त्यसको जिम्मेवारी आफूले लिने भन्दै कार्यालय प्रमुख रविन्द्रकुमार श्रेष्ठले भने सम्झाउने प्रयास गरिरहेको भिडियोमा देख्न सकिन्छ।
तर, यतिले पनि उनीहरुको रिस कम हुँदैन। भिडियोमा संग्रौलासहितको टोलीले ‘ज्वाला संग्रौला भन्ने को हो? नाम सुनेको छ? मिडिया हेर्ने गरेको छ? प्रहरीको फुली लगाए भनेर ठूला कुरा गर्ने होइन नि फेरि। तपाईंको आईजीपीले सम्मान गरेर हिँडेको मान्छे हो ज्वाला संग्रौला। म ठेगान लगाइदिन्छु, एनीहाउ सरुवा हुनुपर्छ, गराइदिन्छु’ भनेर प्रहरी कार्यालयभित्रै असई झालाई धम्क्याएको प्रष्ट छ।
‘जागिर खाएर के राम्रो काम गर्यौ? पाँच वटा काम भन्नुस्। उहाँलाई एनिहाउ सरुवा गर्नुपर्छ। यस्तो मान्छे हामीलाई चाहिँदैन। यो एरियामा तपाईं (असई झा) चाहिँदैन,’ उनीहरुको भनाई भिडियोमा सुनिन्छ। त्यतिमात्र होइन संग्रौलाले भिडियोमा बोलेको कुराले प्रष्ट छ– आफ्नो युट्युब च्यानलका प्रतिनिधिलाई क्यामरासहित प्रहरी कार्यालयमा बोलाएकी थिइन्।

