दीपक मनाङेको एक मतले गण्डकीको मुख्यमन्त्री बन्दैछन् कांग्रेसका पोखरेल


काठमाडौं– दीपक मनाङेका नामबाट परिचित मनाङका प्रदेश सभा सदस्य राजीव गुरुङको एक मतले नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल गण्डकीको मुख्यमन्त्री बन्ने भएका छन्।

विहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार बनाउनका लागि आह्वान गर्नेछिन्। जहाँ पोखरेललाई माओवादी, जसपा, जनमोर्चा र मनाङेको साथ रहने स्पष्ट भएको छ।

कांग्रेसका १५, माओवादीका ११ जसपाका २ र जनमोर्चाका २ सांसदले सरकारको विपक्षमा मतदान गरेका सबैले मुख्यमन्त्रीमा पोखरेललाई समर्थन गर्ने भएका छन्।

६० सदस्य रहेको प्रदेश सभामा मनाङेको सहयोगले नै पोखरेललाई बहुमत पुग्नेछ। उनलाई ३१ सदस्यको साथ रहनेछ। पोखरेलको सम्पर्कमा मनाङे पनि रहेको बताइन्छ।

जनमोर्चाका एक सांसद भने तटस्थ छन् । नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । २०१६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन्।

भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका पोखरेलको मुख्यमन्त्रीको यात्रा स्वतन्त्र सांसद मनाङेको सहयोगले नै हुने निश्चितप्रायः भएको छ।

प्रतिक्रिया