

सशस्त्र प्रहरी अस्पतालमा थिए ओम शर्मा, फेक आइडीबाट रकम कसले माग्यो?
ब्ल्याकमेलिङ गरेर रकम माग्ने प्रवृत्ति बढ्यो, सजग रहनूः साइबर ब्यूरो

काठमाडौं – कोरोनाभाइरस (कोभिड–१९) संक्रमित भएर बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल (एपिएफ हस्पिटल) को बेडमा मृत्युसँग लडिरहेको बेला रातोपाटी डटकमका संस्थापक ओम शर्माको फोटोसहितको नामबाट खोलिएको फेसबुक आईडीबाट पैसा मागियो।
शर्मा अस्पताल भएको बेलामा अप्ठ्यारो पर्यो तत्काल पैसा चाहियो भन्दै मागिएको थियो। पछि शर्माले अस्पतालकै बेडबाट आफ्नो नाममा नक्कली आईडी बनाएर पैसा मागिएको भन्दै प्रतिक्रिया दिएपछि उक्त नक्कली आईडी तत्कालै बन्द भएको छ।
कोरोना संक्रमित भएर २५ दिन लामो समयपछि शनिबार मात्रै शर्मा अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ। ‘आफ्नै नामबाट पैसा मागेको म्यासेजको स्क्रिनसर्ट मलाई आएपछि तत्कालै यो सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक भयो,’ शर्माले भने, त्यसपछि तत्कालै उक्त आईडी बन्द गरिएको छ।’
अस्पतालमा कोरोनासँग लडिरहेको बेलामा मेरो नक्कली फेसबुक आईडी बनाएर पैसा माग्ने काम भएको बताउँदै शर्माले भने, ‘नक्कली आईडीमार्फत पैसा माग्ने बित्तिकै मैले चलाउने गरेको आईडीमा स्क्रिनसर्ट आयो, त्यसपछि तत्कालै पैसा मागिएको व्यक्तिलाई फोन गरेर पैसा नहाल्न भने।’
‘ठगी गर्ने नियतले मेरो नक्कली आईडी बनाएर १५ हजार मागिएको थियो,’ शर्माले भने, ‘समयमै खबर पाएपछि सचेत भइयो, ठगिन पाएनौं।’
‘केही गिरोहले ओम शर्माको नाममा नक्कली फेसबुक खाता खोलेर मेसेन्जरमार्फत पैसा मागेको पाइएकाले त्यस्तो भ्रममा नपर्न अनुरोध छ, रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तले भने, ‘यो सरासर ठगी भएकाले कसैले पनि विश्वास नगर्न हुन उहाँले अनुरोध गर्नुभएको छ। साथै साइबर ब्युरोमा पनि उजुरी प्रक्रियामा रहेको जानकारी गराइन्छ।’
यस विषयमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। पैसा मागिएको व्यक्तिको पहिचान गोप्य राखिएको छ।
कोरोनाभाइरस (कोभिड–१९) बाट नेपालमा अहिले प्रत्येक दिन हजारौं मानिसहरु संक्रमित भइरहेका छन्। कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या पनि पहिलाको भन्दा बढी देखिएको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि भन्दै पूर्णरुपमा काठमाडौं उपत्यकालगायत सबै जिल्लामा निषेधाज्ञा जारी राखेको छ। निषेधाज्ञाको कारण धेरैको गरिखाने रोजीरोटी खोसिएको छ। रोजगारविहीन भएपछि बाँच्नकै लागि मानिसहरु आपराधिक क्रियाकलापमा संलग्न हुन थालेका छन्।
लकडाउनको मौकामा सामाजिक सञ्जालमा नक्कली अकाउन्ट खोली सहयोगमा पैसा माग्ने काम बढिरहेको छ। पटक–पटक नेपाल प्रहरीको साइबर ब्यूरो र नेपाल बैंकर्स संघले सामाजिक सञ्जालमा प्राप्त भएको अनुरोधका आधारमा कसैलाई पनि रकम नदिन आग्रह गर्दै सन्देशमुलक सूचनाहरु सार्वजनिक गरिरहेको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्यांकअनुसार दोस्रो चरणको लकडाउनमा २ सय भन्दा बढी विद्युतीय माध्ययमबाट अपराध भएको छ। सबैभन्दा बढी साइबर अपराध फेसबुकमा ‘फेक आइडी’ बनाएर गर्ने गरिएको तथ्यांकले देखाएको छ।
‘कुनै नक्कली अकाउन्ट खोलेर पैसा मागिएको उजुरी छ। कुनै आफ्नै परिवारबाट सहयोग नपाएपछि ब्ल्याकमेलिङ गरेको उजुरी छ, यस्ता थुप्रै प्रकृतिका उजुरीहरु परेको छ,’ ब्यूरोका एक अधिकृतले भने।
विद्युतीय कारोबार ऐन–२०६३ साइबरमा के गर्न हुन्छ वा हुँदैन भन्ने प्रष्ट लेखिएको छ। ऐनमा गर्न नमिल्ने भनि उल्लेख भएका गतिविधि गरे साइबर अपराध मानिन्छ।
नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय माध्ययमबाट अपराध बढेको भन्दै सचेत हुन आग्रह गरेको छ। आइतबार ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले एक विज्ञप्ति जारी गर्दै यस्ता अपराधबाट जोगिन अनुरोध गरेका हुन्।
अर्काको नक्कली आईडी बनाएर पैसा माग्ने केही आपराधिक समूहहरू नै सक्रिय रहेको एसएसपी अर्यालले बताए। ‘ती समूहले विभिन्न व्यक्तिहरूलाई सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाउने गरेको र उनीहरूलाई मेसेन्जर, ह्वाट्सएप, भाइबर, इमोलगायतबाट पैसा माग्ने गरेको पाइएको छ,’ उनले भने।
त्यतिमात्र होइन नक्कली आईडीबाट अपरिचित व्यक्तिसँग अनैतिक कुराकानी र अश्लिल क्रियाकलाप गरी उक्साएर उनीहरूलाई पनि संलग्न गराउने पाइएको भन्दै ब्यूरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। साथै उनीहरूले त्यस्ता क्रियाकलापमा संलग्न भएपछि भिडिओ रेकर्डिङ गरेर ब्ल्याकमेलिङ गरी रकम माग्ने गरेको एसएसपी अर्यालले बताए।
‘धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरू बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो क्रियाकलापप्रति सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन, प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारले भिडियो कल, भ्वाइस कल नगर्नु हुन सम्बन्धित सबैको जानकारी तथा जनचेतनाको लागि सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।
त्यस्तै नेपाल बैकर्स संघले पनि नक्कली खाता खोली पैसा सहयोग माग्नेहरूबाट सचेत रहन आग्रह गरेको छ। पछिल्लो केही समय सामाजिक सञ्चाल प्रयोग गरी यस्ता सहयोग माग्नेहरू बढेपछि संघले आफ्नो खाता सम्बन्धी विवरण, पिन नम्बर, मोबाइल, इन्टरनेट बैंकिङ सम्बन्धी विवरणहरु, आदि समेत कसैसँग सेयर नगर्नुहुन संघले अनुरोध गरेको छ।

