कोभिड नियन्त्रणमा समन्वयकारी भूमिका आवश्यकः युनियन


चौतारा – नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले कोभिड संक्रमण नियन्त्रण र संक्रमितको उपचारका लागि सरोकारवाला सवै पक्षको समन्वयकारी पहलको खाँचो रहेको धारणा अघि सारेको छ ।

युनियनले संक्रमणबाट मुलुक नै आक्रान्त भएको बेला जिल्लामा पनि दिनप्रतिदिन अप्ठेरो अवस्था सिर्जना भएकाले राजनीतिक दल, जनप्रतिनिधि, फ्रन्टलाइनमा खटिरहेका सुरक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको भूमिका बढी समन्वयकारी र क्रियाशील हुनुपर्ने धारणा अघि सारेको हो ।

युनियनकी अध्यक्ष दुर्गा आचार्यले शनिबार विज्ञप्ति प्रकाशित गरेर नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले पत्रकार कोभिड राहत कोष स्थापना गरेकोमा खुशी व्यक्त गरेकी छन् ।

उनले युनियनकोतर्फबाट कोषमा तत्काल २५ हजार रुपैंयाँ उपलब्ध गराउने घोषणा गरेकी छिन् । उनले महासंघको अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद दिएकी छन् ।

युनियनले शनिबार विज्ञप्ति प्रकाशित गरेर जिल्लामा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा सञ्चारकर्मीले आफ््नो भूमिका निर्वाह गर्दा सचेत र सुरक्षित हुन सवैलाई विशेष आग्रह गरेको छ ।

अप्ठेरो अवस्थामा पनि कार्यस्थलमा खटिनुभएका सञ्चारकर्मीले नागरिकको सूचनाको हकको सुरक्षा गरिरहेको प्रसंग जोड्दै युनियनले आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न सचेत गराएको छ ।

विज्ञप्तिमा संघ र प्रदेश सरकारले गरेको व्यवस्थापनबाट मात्र संक्रमितको उपचार सम्भवन नभएको घटना क्रमले पुष्टि गरिसकेको उल्लेख गरिएको छ ।

सरकारले गरेको प्रयास निष्प्रभावी भएपछि जिल्लामा स्थानीय तह, सामाजिक र राजनीति क्षेत्रबाट शुरु गरिएको प्रयासको प्रशंसा गर्दै युनियनले यस्तो प्रयास सवै क्षेत्रबाट हुनुपर्ने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कोभिड उपचार सेवा केन्द्र स्थापना गर्ने र आफूले चढ्दै आएको निजी गाडी संक्रमितको ओसार–पसारका लागि उपलब्ध गराउने घोषण गर्नुभएकोमा यो जनपक्षीय निर्णयको प्रशंसा गर्दछौं ।’

पूर्वमन्त्री बस्नेतले केही दिन अघि जिल्लामा आफ्नो पहलमा सेवा केन्द्र स्थापना गर्ने र निजी जीप फिर्ता नगर्नेगरी उपलब्ध गराउने घोषणा गरेका थिए ।

साथै यस्तो अभियानमा सवैको सहयोग अपरिहा¥य हुने युनियनको ठहर छ । युनियनले सञ्चारकर्मीलाई क्षमता अनुुसार सहयोग गर्न सँधै तयार रहेको प्रतिवद्धता जनाएको छ ।

युनियनले आफ्नै खर्चमा गत साल आफ्ना सवै सदस्यको कोरोना बिमा गरेको थियो । बिमा गरिएका मध्ये ५ जना संक्रमित भएका थिए ।

ति मध्ये तीन जनाले जनही एक–एक लाख पाइसकेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘अहिले बिमा गर्ने सरकारी नीति नभएको सवैलाई जानकारी नै छ ।’

प्रतिक्रिया