

केपी ओली आजै राति प्रधानमन्त्री नियुक्त हुने

काठमाडौं – २७ वैशाखमा प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन्।
यो समाचार तयार पार्दासम्म कसैले पनि बहुमत प्रमाणित गर्न सकेनन्। विपक्षी गठबन्धन नेपाली कांग्रेस–माओवादी–केन्द्र–जसपाले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेपछि ओलीलाई नै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको हो। राष्ट्रपति भण्डारीले दिएको समय सकिन एक घण्टामात्र बाँकी रहँदा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन्।
दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ।
राष्ट्रपतिले दिएको तीन दिनको समयमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपा उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत पुर्याउन नसकेपछि अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन्।
माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको अर्को पक्ष महन्थ ठाकुरले सहमति नजनाएपछि उनीहरुको पक्षमा बहुमत नपुगेको हो।

