

ग्रील, कवाडीबाट संकलन गरी काभ्रे प्रहरीले बुझायो अस्पताललाई ४० वटा अक्सिजन सिलिण्डर

काठमाडौं – काभ्रेपलाञ्चोक प्रहरीले अक्सिजन सिलिन्डरहरू संकलन गरेर अस्पताललाई बुझाएको छ। बिहीबार विभिन्न ठाउँमा राखिएका अक्सिजन सिलिन्डरहरू संकलन गरेर अस्पताललाई बुझाएको हो।
व्यापारी–व्यसायी, ग्रिल तथा आल्मुनियम उद्योग र विभिन्न वितरण केन्द्रबाट ४० वटा अक्सिजन सिलिन्डरहरू संकलन गरेर अस्पताललाई बुझाएको काभ्रेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरि खतिवडाले जानकारी दिए।
कोरोना भाइरसको दोस्रो लहर आएसँगै संक्रमित हुनेको संख्या बढेको छ। संक्रमणबाट अस्पताल भर्ना हुने बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डरहरू जम्मा गर्न भनेको थियो।
त्यसैअनुसार खटिएको प्रहरीको टोलीले अक्सिजन सिलिन्डरहरू जम्मा गरी अस्पताललाई बुझाएको हो। खाली सिलिण्डरहरु संकलन गरी भरेर धुलिखेल अस्पताललाई ३० वटा र शिर मेमोरियल अस्पताल बनेपालाई १० वटा हस्तान्तरण गरिएको प्रवक्ता खतिवडाले बताए।
‘कवाडी पसल, फलामको ग्रीलहरू, मूर्ति बनाउनेहरूले फलामको लागि प्रयोग गर्ने रहेछन्,’ प्रवक्ता खतिवडाले भने, ‘नबिग्रिएकै सिलिन्डरहरू हुन्। त्यहाँबाट हामीले अनुरोध गरेर संकलन गरी भरेर बुझाएका छौं।’
हालसम्म काभ्रे प्रहरीले ६७ थान अक्सिजन सिलिण्डहरु संकलन गरी पनौतीस्थित नवज्योती ग्यास प्रा.लि.मा लगेर खाली सिलिण्डहरु भर्ने गरेको प्रवक्ता खतिवडाले बताए। खतिवडाका अनुसार थप खाली सिलिण्डहरु संकलन गर्ने कार्य जारी छ।
विश्वव्यापी रुपमा फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को दोस्रो चरणको संक्रमणको कारण महामारीले चरम रुप लिइरहेको विषम परिस्थितिमा यसको संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमण फैलिन नदिनका लागि राज्यको सम्पूर्ण संयन्त्र पूर्ण रुपमा प्रयासरत रहेको अवस्थालाई ध्यानमा राखी नेपाल प्रहरीले समेत सक्रियता बढाएको हो।

