

ग्यास पड्किएर घाइते एक परिवारलाई मन्त्री आलेको सहयोग

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले ग्यास पड्किएर घाइते एक परिवारलाई आज आर्थिक सहयोग गरेका छन् ।
मन्त्री आलेले नेपाली सेनामा कार्यरत डोटीको शिखर नगरपालिका-६ का टेकबहादुर मल्लको परिवारलाई २५ हजार सहयोग गरेका हुन् । मल्लको काठमाडौँ महानगरपालिका-२८ स्थित कोठामा यही वैशाख १९ गते ग्यास पड्किएर आगलागी हुँदा उहाँका बुवा, श्रीमती र छोराछोरी घाइते हुनाका साथै भौतिक सम्पति नष्ट भएको थियो । मल्ल परिवारको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।
नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शेरबहादुर मल्लले घटनाबारे जानकारी गराएपछि मन्त्री आलेले सहयोग गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।

